Thursday, February 25

स्वाब दिएर घर फर्किएका युवकमा देखियो कोरोना, गाउँ नै सिल

August 23, 2020 119

पर्सामा स्वाब दिएर डडेल्धुरा पुगेका युवामा कोरोना पोजेटिभ देखिएपछि गाउँ नै सिल गरिएको छ।डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर २ का युवक गाउँ आएर होम-क्वारेन्टिन नबसी सबैतिर डुलेपछि सम्पर्कमा आएकाको खोजी र परीक्षणका लागि देउरा गाउँ सिल गरिएको हो।

देउराका स्थानीयलाई बाहिर जान नदिने र बाहिरकालाई गाउँमा आउन नदिने गरी आजदेखि सिल गरिएको गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले बताए।‘जनतालाई छिमेकी वडा बस्तीमा नजान र आवतजावत नगर्न सचेत गराएका छौं र सुरक्षाकर्मी पनि परिचालित छन्,’ उनले भने। ती संक्रमित युवक गाउँ आएकोबारे एक हप्तापछि मात्र जानकारी भएको अध्यक्ष भट्टले बताए।आज संक्रमितको सम्पर्कमा आएकाहरूको स्वाब नमूना संकलन गरी परीक्षणका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएको छ।

‘३० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ,’ उनले भने।संक्रमित युवकको सम्पर्कमा आएकाहरूको स्वाबको रिपोर्ट आएपछि सिल खोल्ने कि के गर्ने भन्ने निर्णय हुने भट्टले बताए।संक्रमित युवकले साउन २६ गते स्वाब दिएर २९ गते डडेल्धुरा आएका थिए।उनको भदौ ३ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनले स्थानीय बजारमा किनमेल र गाउँमा धेरैसँग भेटघाट गरेको पाइएको छ।

प्रतिकृया दिनुहोस्