Saturday, February 27

निषेधाज्ञालगत्तै उपत्यकामा तरकारीको भाउ अकासियो

August 23, 2020 191

कोरोनाको जोखिम बढेको भन्दै सरकारले बुधबार रातिबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि ताजा हरियो तरकारीको भाउ अकासिन थालेको छ । यसअघि सरकारले ११ चैतदेखि लकडाउन गर्दा पनि तरकारी र खाद्यान्नको मूल्यवृद्धि भएको थियो । आपूर्ति व्यवस्था सहज बनाउने कुनै योजनाविनै सरकारले लकडाउन र निषेधाज्ञाजस्ता आवतजावतमा कडाइ गर्ने व्यवस्था लागू गर्दा उपभोक्ताहरू बारम्बार महँगीको मारमा पर्न थालेका हुन् ।

आम्दानी खुम्चिरहेका वेला महँगी बढेर झन् समस्या भइरहेको ललितपुर महानगरपालिका–२५, भैँसेपाटीकी गृहणी निर्मला कार्की बताउँछिन् । ‘तरकारीको भाउ दुई दिनमै बढ्यो । ९० रुपैयाँमा किनिरहेको गोलभेँडा १ सय २० पुगेको छ,’ उनले भनिन्, ‘यो त अचाक्ली भयो । खाद्यान्नको भाउ पनि बढ्न सक्ने भन्दै पसलेहरूले अहिले नै धेरै लैजानु भनिरहेका छन् ।’

कालिमाटीको थोक बजारमा नै हरियो ताजा तरकारीको भाउ निकै बढेको छ । कालिमाटी बजारको थोक मूल्य विवरणअनुसार निषेधाज्ञाअघि गोलभेँडाको औसत थोक मूल्य ४७.६७ रुपैयाँ प्रतिकिलो थियो । तर, शनिबार बिहान औसतमा ७७.६७ रुपैयाँमा बिक्री भएको छ । कालिमाटीबाट तरकारी खरिद–बिक्री गर्ने खुद्रा व्यवसायीले बुधबार साँझ १ सय २० रुपैयाँ प्रतिकिलोसम्म गोलभेँडा बिक्री गरेका छन् ।

कालिमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठका अनुसार काठमाडौंको गोलभेँडा बाहिरी जिल्लामा समेत जान थालेकाले आपूर्ति कम भई मूल्य बढेको हो । ‘काठमाडौं आसपासका जिल्लाको गोलभेँडाले उपत्यकाको मागलाई नै धान्न सकेको छैन । यस्तोमा बाहिरसमेत यहीँको गोलभेँडा जान थालेको छ,’ श्रेष्ठले भने, ‘त्यसैले आपूर्ति कम भई मूल्य बढेको हो ।’ धरानस्थित तरकारी बजारमा शुक्रबार र शनिबार गोलभेँडा नै नभएको समेत उनले बताए । त्यस्तै, भान्सामा धेरै खपत हुने आलुको मूल्यसमेत थोक बजारमा प्रतिकिलो १० रुपैयाँसम्म बढेको छ । निषेधाज्ञाअघि धार्नी (२.५ किलो) को १ सय ४० रुपैयाँसम्ममा पाइने आलु अहिले १ सय ७० रुपैयाँभन्दा बढी पुगेको छ ।

आपूर्ति नै घट्यो
सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक ५–६ लाख किलो तरकारी आयात हुने गरेको छ । तर, बुधबार रातिदेखि निषेधाज्ञा सुरु भएपछि आयात घटेको कालिमाटी बजारको तथ्यांकले देखाउँछ । १ भदौमा ४ लाख २० हजार किलो तरकारी आयात भएको कालिमाटी बजारमा ५ भदौमा ३ लाख ६८ हजार किलो आयात भएको देखिन्छ । कालिमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठले आपूर्ति नै घटेका कारण पनि मूल्यमा असर परेको बताए । ‘अहिले आपूर्ति नै कम भइरहेको छ । त्यसैले मूल्यमा चाप पर्नु स्वाभाविक हो,’ उनले भने ।

खाद्यान्नको मूल्यमा पनि चाप बढ्दै
निषेधाज्ञालगत्तै दैनिक उपभोग्य खाद्यान्नको मूल्यमा समेत चाप पर्न थालेको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार साताअघि खरिद गरेको खाद्यान्नको मूल्यमा कुनै फरक नपरेको, तर शुक्रबार र शनिबार खरिद गरेको खाद्य वस्तुको मूल्य केही बढेर आएको जानकारी पाएको बताए ।

‘एक–दुई दिनयता थोक बजारबाट खरिद गरेको खाद्यान्नको मूल्यमा सामान्य वृद्धि भएको जानकारी विभिन्न साथीभाइबाट आएको छ,’ उनले भने, ‘के–कस्ता वस्तुको मूल्यमा चाप बढेको हो भन्ने कुराको जानकारी लिइरहेको छु ।’ उनका अनुसार पछिल्लो दुई सातादेखि चिनीको भाउ भने बढेको छ । ‘अहिले चिनी ९० रुपैयाँ पुगेको छ,’ उनले भने, ‘पहिले ८० देखि ८५ रुपैयाँसम्म थियो ।’ थोकमा नै चिनीको भाउ बढेका कारण खुद्राले वृद्धि गरेको उनले बताए ।

पेट्रोलियम खपत पनि घट्यो
काठमाडौं उपत्यकामा सामान्य अवस्थामा ९ लाख लिटर डिजेल र ६ लाख लिटर पेट्रोल बिक्री हुने गरेको थियो । लकडाउनमा ४ देखि ५ लाख लिटरको औसत दरमा पेट्रोल, डिजेल बिक्री भइरहेको थियो । तर, बुधबार रातिदेखि निषेधाज्ञा सुरु भएपछि बिक्री झन् घटेको निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका प्रमुख प्रदीप यादवले बताए । उनका अनुसार शुक्रबार १ लाख ५० हजार लिटर पेट्रोल र सोही परिमाणमा डिजेल बिक्री भइरहेको छ । यो बिक्री अत्यन्त न्यून हो । किनभने, अन्य दिनको तुलनामा शुक्रबार सबैभन्दा बढी तेल बिक्री हुने गरेको छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार देशभर बिक्री २५ प्रतिशतमा झरेको छ । काठमाडौंमा जिल्ला प्रशासनले र अन्य क्षेत्रमा स्थानीय तहले लकडाउन गरिरहेका कारण इन्धन बिक्रीमा गिरावट आएको उनले बताए ।

कालिमाटीमा घट्दै गयो, खुद्रामा बढ्दै गयो
कालिमाटीको थोक बजारमा घटेको तरकारीको भाउ खुद्रा व्यापारीले बढाएका छन् । निषेधाज्ञाअघि ६५ रुपैयाँ प्रतिकिलो थोक मूल्य रहेको लामो बोडी शनिबार बिहान कालिमाटीको थोक बजारमा ५८ रुपैयाँ थियो । तर, शनिबार साँझ ललितपुरको भैंसेपाटीमा लामो बोडी ठेलागाडा व्यापारीले ३० रुपैयाँ पाउ (किलोको १५०) ले बिक्री गरेका थिए ।

त्यस्तै, ३७ रुपैयाँ प्रतिकिलो रहेको लौका कालिमाटीको थोक बजारले औसतमा २२ रुपैयाँमा बिक्री गरेको थियो । तर, साँझ ठेलागाडा व्यापारीले ८० रुपैयाँ प्रतिकिलोमा लौका बिक्री गरेका थिए । कालिमाटीको थोक बजारले ३७ रुपैयाँमा बिक्री गरिरहेको घिरौँला खुद्रा पसलहरूबाट १ सय रुपैयाँमा बिक्री भएको छ । सरकारले खुद्रा मूल्य नियमनका लागि कुनै कदम नचाल्दा तरकारीको भाउ मनपरी वृद्धि भइरहेको छ ।

अत्यावश्यक सेवाको पनि व्यापार खस्कियो
कोरोना भाइरस नियन्त्रणका लागि बुधबार रातिबाट जारी निषेधाज्ञाले उपत्यकामा अत्यावश्यक दैनिक उपभोग्य वस्तु दूध, पेट्रोलियम पदार्थलगायतको व्यापारमा पनि असर परेको छ । किराना पसल बिहान एक समय मात्रै खुल्न पाएकाले कारोबार २०–२५ प्रतिशतमा झरेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको पहलमा हामीले एक समय मात्र पसल खोलेर भए पनि साथ दिइरहेका छौँ,’ उनले भने, ‘जसकारण व्यवसायमा प्रतिकूल असर परेको छ ।’ गत ११ चैतदेखि लकडाउन गर्दा खुद्रा किराना व्यवसाय २० प्रतिशतमा झरेको थियो । तर, बिस्तारै लकडाउन खुकुलो बनाई आवतजावत सहज भएसँगै किराना पसलको व्यवसाय ५० प्रतिशतसम्म सुध्रिएको उनको भनाइ छ । ‘सुरुमा गरिएको लकडाउनका कारण धेरै मानिसहरू काठमाडौं आएका छैनन् । आएकाहरूले पनि दाल, चामल गाउँबाटै ल्याएका कारण पहिलेजस्तो व्यवसाय अघि बढेको छैन,’ उनले भने, ‘अहिले निषेधाज्ञा हुँदा त व्यवसाय झन् अप्ठ्यारोमा परेको छ ।’

त्यस्तै, अत्यावश्यकअन्तर्गत रहेको दुग्ध पदार्थको बिक्रीसमेत करिब ५० प्रतिशत कम भएको छ । सामान्य अवस्थामा ७ लाख लिटरभन्दा बढी दूध खपत हुने गरेकोमा अहिले ४–५ लाख लिटर मात्र बिक्री भइरहेको डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले बताए । बिहीबार प्रहरी, प्रशासनले दूध ढुवानी र बिक्रीमा अत्यन्तै कडाइ गरेको पनि उनले गुनसो गरे ।

‘सरकारको माथिल्लो निकायबाट दूधलगायत अत्यावश्यक वस्तुको ढुवानी र बिक्रीमा अवरोध नगर्ने निर्णय भएको थियो, तर प्रहरी, प्रशासनले दूध ढुवानी गर्नै दिएनन् । पसलहरू पनि बिहान एकछिन खोलेपछि बन्द गर्न लगाइयो,’ उनले भने, ‘जसकारण किसानबाट संकलन गरेको दूध ढुवानी र बिक्री गर्न नपाउँदा खेर जाने स्थिति बन्न लागेको छ ।’ तिजको दर खाने दिन अन्य दिनको तुलनामा डेढ लाख लिटरभन्दा बढी दूध खपत हुने गरेको विगतका उदाहरण सुनाउँदै सीताराम गोकुल मिल्कका सञ्चालक केडियाले भने, ‘यसपटक त दर खाने दिन नै निषेधाज्ञा भयो । त्यसमाथि प्रहरीले बिहान सात बजेपछि ढुवानी र बिक्री गर्ने पसल बन्द गरिदिँदा यो क्षेत्रले ठूलो मर्का व्यहोरेको छ ।’ उनले आगामी दिनमा दूध ढुवानी र बिक्री गर्न कतैबाट अवरोध नगरे किसानको दूध संकलन गरेर बजारमा पठाउन सहज हुने बताए ।

प्रतिकृया दिनुहोस्