Saturday, March 6

टेलिभिजनमा ब्रेकिङ न्यूज आयो, ‘सेनाविरुद्ध बोल्ने मन्त्री बर्खास्त ।’ जर्साबले सुसूचित गरे, ‘यो हाम्रै च्यानल हो ।’

August 22, 2020 175

गरुड नर्सिङ मेरो गुच्चा खेल्दादेखिको साथी हो । बाउबाजेको बिंडो थाम्दै ऊ सेनामा गयो र प्रमोशन खाँदै जर्नेल भएको छ । मैले पनि बाउबाजेको बिंडो थाम्दै सामान्य जागीर खाएँ र अफिसको एउटा शाखाको हाकिम भएको छु । आज पनि हाम्रो दोस्ती उस्तै छ, जस्तो उसवेला थियो ।

 

पाँच वर्ष अघि म अफिसको कामले दुई हप्ताका लागि पाकिस्तान पुगेको थिएँ । ऊ पनि छ महीनाका लागि त्यहीं पुगेको रहेछ । त्यसवेला हामी तीन दिन सँगै पाकिस्तान घुमेका थियौं । ऊ सेनाको मान्छे, सेनाको काममा चासो राख्नु स्वाभाविक थियो । मलाई त्यस्ता तमाम ठाउँ देखाएर भनेको थियो, ‘पैसा आउने कुनै काम सेनाले छोड्दैन । जर्नेलहरू मालामाल भएका छन् ।’

आज बिहान उही गरुड नर्सिङले फोन गर्‍यो । भन्यो, ‘धेरै दिन भो यार, भेटघाट नभएको । आज सँगै लन्च खाने । म तँलाई लिन आउँछु ।’

मैले नाइँ भन्ने कुरै थिएन । उसको लन्च आर्मीको अफिसर्स क्लबमा हुन्थ्यो । बाहिर नपाइने मासुका परिकार भएको । बडो शानदार, बडो स्वादिष्ट । मेरा लागि ऊसँगको भेट त्योभन्दा शानदार, ऊसँगको गफ त्योभन्दा स्वादिलो ।

म अफिस पुगेको मात्र थिएँ, ऊ आइहाल्यो । एकै छिनमा उसले हाँकेको मोटर शहरमा मटरगश्ती गर्न थाल्यो । उसले कुरा उठायो, ‘सुक्खा लाग्यो यार, तलब बाहेक केही हात पर्नै गाह्रो हुन थाल्यो ।’

‘वाहियात कुरा नगर् । बाटो र अरू के–के बनाउने भनेर अर्बौं–खर्बौंको ठेक्का लिन्छौ । लागत दोब्बर देखाउँछौ,’ मैले उसलाई दपेट्न खोजें, ‘आफूले काम नगरेर भुरे ठेकेदारलाई दिन्छौ र बसीबसी ग्वाम्म खान्छौ । तिमीहरू जस्तो मालामाल को होला ?’

‘तैंले कुरो बुझ्या छैनस् ।’

‘खूब बुझ्या छु । मैले मात्र किन, अस्ति भर्खरको ओखती काण्ड त दुनियाँले बुझ्या छ । त्यत्रो पैसा कहाँ गयो, भन् त ?’ मलाई थाहा थियो, आजसम्म ऊ पैसामा बिटुलिएको थिएन । तर साथीलाई पेल्न जस्तो मजा अरू केमा हुन्छ ?

‘गएर मन्त्रीको पानीट्यांकीको बिर्को खोल् न, देखिहाल्छस् नि,’ उसले एउटै वाक्यले मलाई थचक्क पार्‍यो । दुवै जना जोडले हाँस्यौं ।

कुरा उही पाकिस्तानको सेनातिर मोडियो । उसले भन्यो, ‘हामीकहाँ कानूनले बाटो छेकेको छ । सैनिक ऐनमा ‘राष्ट्रको सेवामा समर्पित रही आर्थिक आर्जन हुने काम गर्न सक्नेछ’ भनेर एउटा वाक्य थप्ने हो भने हामी पनि उनीहरू जस्तै मालामाल हुन सक्छौं ।’

‘तिमीहरूका पनि चर्तिकला कहाँ कम छन् र ?’ म अझै जिस्क्याउने मूडमा थिएँ ।

यतिन्जेलमा मोटर अफिसर्स क्लबमा छिरिसकेको थियो । भोकको सुरमा केही नबोली टन्न राजसी लन्च खाइयो । ऊ ‘एकै छिन है’ भनेर पल्लो कुनामा बसेको चारतारे जर्नेलसँग भलाकुसारी गर्न थाल्यो । म काउचमा टाउको अड्याएर आराम गर्न थालें ।

‘ल जाऊँ त अब हाम्रा चर्तिकला हेर्न’, जर्साबले भने र हामी गाडीमा सवार भयौं ।

एकैछिनमा एउटा विशाल मलमा पुगियो । त्यसको नाममुनि हरिया अक्षरमा लेखिएको थियो, ‘राष्ट्रको सेवामा समर्पित ।’

जर्साबले व्याख्या गरे, ‘यो हाम्रो नारा हो । हाम्रा सबै व्यापारिक संस्था, कम्पनी र कारोबारमा यो नारा प्रयोग हुन्छ । यसमा हाम्रो कपीराइट छ, अरूले यो नारा प्रयोग गर्न पाउँदैनन् ।’ मैले फेरि, हच्किंदै पढें ‘राष्ट्रको सेवामा समर्पित ।’उनले मतिर हेरेर देब्रे आँखा झिम्क्याए, ‘यो बाहिर देखाउने नारा हो । गोप्य र असली नारा चाहिं अर्कै छ । त्यो हो— पैसा आउने जुनसुकै धन्दामा समर्पित ।’

१२ तले मलको पहिलो तलामा एकातिर कपाल काट्ने भव्य सैलून थियो । जर्साबले बताए, ‘हामीले देशभरि १२ सय सैलून चलाएका छौं । यो केन्द्रीय सैलून हो ।’ त्यही तलामा अर्कातिर रहेको झन् भव्य मसाज पार्लरतिर देखाउँदै उनले साउती गरे, ‘यो पनि हाम्रै हो । यसको पनि देशव्यापी चेन छ । भरे यहीं मसाज गराउँला ।’

हामी बीचका तलाहरूमा नअलमलिई लिफ्टबाट सबैभन्दा माथिल्लो तलामा पुग्यौं । त्यहाँ ‘राष्ट्रको सेवामा समर्पित’ दुई दर्जन भन्दा बढी अफिस रहेछन् । जर्साबले बताए, ‘हामी देशमा आठवटा जलविद्युत्, चारवटा सिमेन्ट कारखाना, दुइटा चिनी मिल, नौवटा खानी र छवटा शिकार–आरक्ष सञ्चालन गरिरहेका छौं । ती सबैका सम्पर्क कार्यालय यसै तलामा छन् । ठूलठूला कारोबार यहींबाट मिलाइन्छ ।’

मलबाट अलि पर रहेको दशतले भवन एउटा बैंकको केन्द्रीय कार्यालय रहेछ, उही नारा लेखिएको । जर्साबले गाडीबाट नओर्ली जानकारी दिए, ‘हाम्रो यो बैंक अर्को वर्ष देशको सबैभन्दा ठूलो बैंक बन्दैछ । सबैभन्दा बढी शाखा यसैका छन् ।’

शहरमा घुम्दै जाँदा मैले ‘राष्ट्रको सेवामा समर्पित’ कपडा पसल, टेलरिङ सेन्टर र पार्टी प्यालेसहरू देखें । मासु पसल, आलु पसल, रेस्टुराँ र बारहरू पनि आँखामा ठोकिए । फौजी पोशाक लगाएका जवानहरूले अनुशासित रूपमा मासु काटिरहेको, आलु तौलिरहेको, ग्र्राहकका टेबुलमा खानेकुरा पुर्‍याइरहेको, रक्सी थपिरहेको दृश्यले दिल बिन्दास भयो । जर्साब सबैको परिचय दिंदै जान्थे र भन्न छुटाउँदैनथे, ‘हामीले यसको देशव्यापी चेन विस्तार गरेका छौं ।’

अब हामी शहरको बाहिरी छेउतिर पुगेका थियौं । त्यहाँ निकै ठूलो गार्मेन्ट कारखाना रहेछ । सैनिक पोशाकमा रहेको म्यानेजरले जर्साबलाई स्यालुट गर्‍यो । उनले भने, ‘यो दुई सय रोपनीमा फैलेको छ । देशको एक–तिहाइ जनसंख्या बराबरको सर्ट–प्यान्ट यसले उत्पादन गर्छ । हाम्रा यस्तै क्षमताका जुत्ता कारखाना, मोजा–गन्जी–अन्डवियर कारखाना र औषधि कारखाना पनि छन् ।’

म्यानेजरले हामीलाई दुई–दुई सेट सर्ट–प्यान्ट उपहार टक्र्यायो । एक घण्टापछि हामी जंगलछेउको घोडा फार्ममा पुग्यौं । जर्साबले बताए, ‘यसमा दुई हजार घोडा पालिएका छन् । आर्मी, पुलिस र सिभिलियनलाई चाहिने घोडा यहींबाट सप्लाइ हुन्छ । योसँगै बाख्रा फार्म र राँगो फार्म पनि छन् । तिनको क्षमता पाँच हजार बाख्रा र दुई हजार राँगाको हो । यहाँबाट देशभरि मासु सप्लाइ हुन्छ । यी फार्म झन्डै छ हजार रोपनीमा फैलेका छन् । म तीनवटै फार्मको इन्चार्ज हुँ ।’

‘आम्दानी कहाँ जान्छ ?’

‘एक चौथाइ जति आर्मीमा जान्छ, अरू मेरो खल्तीमा । मैले यति भयो भनेर बुझाउँदा हुन्छ, हिसाब देखाउन पर्दैन । सबैतिरको सिस्टम यही हो । सबैमा जर्नेल, कर्नेल इन्चार्ज छन् । जो इन्चार्ज हो, उसैको तजबीज ।’

हामीले एक छिन घोडसवारीको आनन्द लियौं र चार धार्नी बाख्राको मासु गाडीमा लोड गरेर अगाडि बढ्यौं । अलिक पर ‘राष्ट्रको सेवामा समर्पित’ डेरी उद्योग र बियर फ्याक्ट्री रहेछन् । जर्साब बियरका सोखिन, चार कार्टून बियर उठाइहाले । बाटोपारि त्यही नाराले सजिएको एउटा विश्वविद्यालयको गेट रहेछ । उनले सुनाए, ‘हरेक प्रदेशमा राष्ट्रको सेवामा समर्पित मेडिकल कलेज र इन्जिनियरिङ कलेजहरू चलाइएका छन् । एउटा कलेजबाट वर्षको ५० करोडसम्म आउँछ ।’

हामी शहरतिर फर्कंदै थियौं । बाटोको दायाँतर्फ निकै ठूलो कम्पाउन्डभित्र चारवटा भव्य बिल्डिङ देखिए । जर्साबले बताए, ‘हामी ठेक्कापट्टा, घरजग्गा कारोबार, वैदेशिक व्यापार र वैदेशिक रोजगारमा पनि सक्रिय छौं । यी बिल्डिङ तिनैका हेडक्वार्टर हुन् । कति काम आफैं गर्छौं, तर बिचौलिया बन्दा झन् बढी फाइदा हुँदोरहेछ ।’

शहरको छेउमा ‘राष्ट्रको सेवामा समर्पित’ दुइटा हाउजिङ रहेछन् । उनले फर्माए, ‘एउटा लग्जरी हाउजिङ हो, फाइभ स्टार सुविधा भएको । अर्को चाहिं मध्यम स्तरको हो, थ्री स्टार सुविधाको । मध्यम स्तरका हाउजिङ देशका प्रत्येक शहरमा खडा गरेका छौं ।’

फर्केर हामी पुनः मसाज पार्लरमा दाखिल भयौं । नियमित व्यायामले सुगठित शरीर भएका महिला ‘जवान’हरूले गरेको कडक मसाजले जीउ चंगा बनाइदियो । त्यसपछि पेटपूजा गर्न ‘राष्ट्रको सेवामा समर्पित’ एउटा भव्य रेस्टुराँमा पुग्दा जर्साबबाट थाहा भयो, देशभरि त्यसका चार सय शाखा रहेछन् ।

खाजा खाँदैथियौं, टेलिभिजनमा ब्रेकिङ न्यूज आयो, ‘सेनाविरुद्ध बोल्ने मन्त्री बर्खास्त ।’ जर्साबले सुसूचित गरे, ‘यो हाम्रै च्यानल हो । हामी चारवटा राष्ट्रिय टेलिभिजन च्यानल चलाउँछौं । स्थानीय तहमा देशभर करीब छ सयवटा एफएम रेडियो सञ्चालन गरेका छौं ।’

म रेस्टुराँको आरामदायी सोफामा अडेस लागेर उनका कुरा सुन्दैथिएँ । थाकेको थिएँ, आँखा लोलाएछन् । अचानक भुइँचालो आएजस्तो भयो ।

‘उठ् यार, दिउसै सपना देख्न थालिस् कि क्या हो ?’

म झल्याँस्स भएँ । भुइँचालोले होइन, गरुड नर्सिङले पो हल्लाइरहेको रहेछ । म साँच्चै दिउसै सपना देखिरहेको रहेछु ।

मैले उसलाई सपनाको बेलिबिस्तार लगाएँ । ऊ हाँस्यो, ‘हामीले पाकिस्तानमा घुम्दा देखेका कुरा रिठ्ठो नबिराई देखिछस् ।’

‘मैले मेरो होइन, तेरो सपना देखेको’, फेरि उसलाई जिस्क्याएँ ।

‘त्यस्तो हुन सके त राम्रै हुन्थ्यो नि । टन्न गाँठ आउँथ्यो, शान नै बेग्लै हुन्थ्यो,’ उसले घुटुक्क थूक निल्यो ।

‘सेना नै यो सब धन्दामा लागेपछि बन्दूक चाहिं कसले चलाइदेला नि ?’ मैले छड्के हानें ।

‘किन चलाउनुपर्‍यो बन्दूक ? लडाइँ कहिल्यै गर्नुपर्ने होइन क्यारे । शान्ति सुरक्षादेखि सीमा सुरक्षासम्म प्रहरीले गरिहाल्छ । हामीले गर्ने त परेड, सलामी र मार्चपास न हो,’ उसले भन्यो ।

ऊ गम्भीर थियो । म पनि हाँस्न सकिनँ ।

प्रतिकृया दिनुहोस्