August 21, 2020 98
काठमाडौं । कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
कोभिड–१९ बाट संक्रमित सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा रहेका छन् । धनुषामा गत जेठ १३ गते पहिलो पटक सेनाका दुई जनामा कोभिड–१९ संक्रमण देखिएको थियो । पछिल्लो समय नेपालगञ्जस्थित तालीम केन्द्रमा एकै पटक २५ जनामा उक्त संक्रमण देखिएको प्रवक्ता पौडेलले जानकारी दिए । उनले भने, “मुलुकमा कोभिड–१९ को संक्रमण बढ्न गई आइसोलेशनको अभाव हुने अवस्था देखेर सैनिक जनशक्तिका लागि ब्यारेकभित्रै आइसोलेसन बनाएर कार्यान्वयनमा ल्याउने कार्यको शुरुआत भइसकेको छ ।”
मुलुकमा कोभिड–१९ संक्रमण बढेसँगै पछिल्लो सात दिनमा १९ जनाको मृ-त्यु भएको छ । नेपालमा करीब ३० हजार सङ्क्रमितमध्ये करीब १८ हजार निको भएर घर फर्केका छन् भने १२ हजार सक्रिय सङ्क्रमित रहेको र तिनमा केही घरमै आइसोलेशनमा बसेका छन् ।
प्रतिकृया दिनुहोस्