Wednesday, January 20

यी हुन् मन्त्रिपरिषद्ले कोरोन महामारीबारे गरेका १६ निर्णय

August 21, 2020 236

काठमाडौं। देशमा कोरोना महामारीको जोखिम बढिरहेका बेला सरकारले कोरोना महामारीबारे नयाँ रणनीति तयार गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ बुँदे निर्णय गरेको छ।

यस्ता छन् निर्णयहरुः

१. सीमावर्तीक्षेत्र, अन्तर जिल्ला र जिल्लाभित्र संक्रमणको उच्च जोखिम भएको क्षेत्रभित्रको आवत–जावतलाई नियन्त्रण गर्ने, आवत–जावत गर्न अति आवश्यक भएको अवस्थामा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा स्यानिटाईजरको प्रयोग वा साबुन पानीले हात धुने लगायतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड तथा प्रोटोकलहरुको पालना गर्ने गराउने। यस व्यवस्थाको पालना भए नभएको सम्बन्धमा सम्बन्धित मन्त्रालय/निकायहरुबाट स्थानिय प्रशासनको समन्वयमा नियमित अनुगमन गर्ने। पालना नगर्नेलाई प्रचलित कानून बमोजिम प्रमूख जिल्ला अधिकारीले तत्काल कारवाही गर्ने।

२. अत्यावश्यक सेवा लगायतका अति जरुरी पेसा, व्यवसाय सञ्चालन गर्दा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा स्यानिटाईजरको प्रयोग वा साबुन पानीले हात धुने लगायतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड तथा प्रोटोकलहरु र विषयगत मन्त्रालय/निकायबाट जारी भएका मापदण्ड, निर्देशिका एवं यससँग सम्बन्धित अन्य व्यवस्थाहरु पालना गर्ने गराउने। यस व्यवस्थाको पालना भए नभएको सम्बन्धमा सम्बन्धित मन्त्रालय÷निकायहरुबाट स्थानिय प्रशासनको समन्वयमा नियमित अनुगमन गर्ने। सोको लागि सम्बन्धित स्थानिय प्रशासनले मोबाइल गस्तीको व्यस्था गर्ने। स्वास्थ्य र सुरक्षा मापदण्डको पालना नगर्नेलाई प्रचलित कानून बमोजिम प्रमूख जिल्ला अधिकारीले तत्काल कारवाही गर्ने।

३. कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आवश्यक क्वारेन्टिनको एकिकृत प्रबन्ध गृह मन्त्रालयले गर्ने। गृह मन्त्रालयले तीन वटै जिल्लाका कोभिड१९ संकट व्यवस्थापन केन्द्र मार्फत नेपाली सेनाको सहयोगमा सम्बन्ति स्थानिय तहको समन्वयमा एकीकृत क्वारेटिनको सञ्चालन व्यवस्थापन गर्ने। यसको लागि आवश्यक बजेट कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलबध गराउने। खाना र अन्य दैनिक उपभोगका सामानहरुको खर्च कल्याण्डकारी कोषबाट व्यहोर्ने। क्वारेन्टिनको सञ्चालन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डको पालना गराउने।

४. सतह मार्ग हँदै तोकिएका सीमानाबाट नेपाल आउने व्यक्तिहरु होटल क्वारेन्टिनमा कम्तिमा ७ दिन अनिवार्य बस्नुपर्ने। यसका लागि सीमानाका आसपासमा रहेका निजी होटल क्वारेन्टिन तोक्ने कार्य जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गर्ने। अलपत्र परी बेखर्ची अवस्थामा रहेका होटल क्वारेन्टिनमा बस्न नसक्ने नागरिकहरुलाई नेपाल प्रवेशका लागि तोकिएको सीमावर्ती क्षेत्रमा नै आवश्यक क्वारेन्टिनको व्यवस्था, खाना लगायत अन्य उपभोग्य सामाग्रीको प्रबन्ध स्थानिय तहको समन्यवय र नेपाली सेनाको सहयोगमा जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गर्ने।

५.स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल आवश्यकता अनुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठान समेतलाई प्रयोगमा ल्याई हाललाई ६००० आइसोलेसन बेडको प्रबन्ध गर्ने। काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लामा प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयले संक्रमण जोखिमको विश्लेषणको आधारमा आइसोलेसन बेडको प्रबन्ध गर्ने। यसका लागि प्रदेश र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आवश्यक समन्वय गर्ने। आईसोलेसन बेडको व्यवस्था सञ्चालनका लागि आवश्यक बजेट कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलब्ध गराउने। आइसोलेसनके सुरक्षा प्रबन्ध नेपाली सेनाले गर्ने।

६. लक्षण नभएका वा सामान्य लक्षण मात्र भई आफ्नै घर वा अपार्टमेन्टमा बस्न चाहने व्यक्त्हिरुलाई आवश्यक स्वास्थ्य प्रोटोकल पालना हुने गरी होम आइसोलेसनमा बस्न अनुमति दिने। होम आइसोलेसनमा बस्ने अवस्था नरहेमा त्यस्ता व्यक्तिलाई आइसोलेसन सेण्टरमा राख्ने र लक्षण भएका संक्रमितलाई मात्र काभिड अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउने।

७. आईसोलेसन सेण्टर सञ्चालन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गर्ने गराउने।

८.कोभिडको सघन उपचार कक्षका लागि आवश्यक भेण्टिलेटर, आईसीयू, अक्सिजन, औषधिलगायत स्वास्थ्य उपकरण तथा सामाग्रीको आवश्यक प्रबन्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने। यसको लागि बजेट अर्थ मन्त्रालयले उपलब्ध गराउने।

९. कोभिड–१९ को लक्षण भएका अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यकता अनुसार सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठानहरु, निजी शिक्षण अस्पताल, निजी अस्पताल, सहकारी अस्पताल, गैर नाफामुलक सामुदायिक अस्पतालहरुबाट समेत सेवा सञ्चालन गर्ने गराउने। यसका लागि आवश्यक पर्ने सरकारी, सार्वजनिक क्षेत्रका स्वास्थ्य तथा जनसक्ति परिचालन गर्ने। आवश्यकता अनुसार कुनै अस्पताललाई कोभिडको मात्र उपचार गर्ने गरी अस्पताल तोक्ने। यस कार्यमा असहयोग र बाधा विरोध गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कोरवाही गर्ने।

१०. संक्रमित व्यक्ति, समूह, समूदाय क्षेत्र तथा स्थानमा आरटी–पीसीआर परिक्षणको कार्य थप प्रभावकारी बनाउने।

११. कोरोना संक्रमण न्यून रहेका र आरटी–पीसीआर परीक्षण सहज भएका मुलुक तथा सहरहरु मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्याण्ड,जापान, चीन, हङकङ, अस्ट्रेलिया, यूरोप र अमेरिकाबाट नेपाल सरकारको निर्णयानुसार नेपाल आउन अनुमति भएका नेपालीनागरिक र नेपालस्थित विदेशी नियोगका कूटनितिज्ञ तथा कर्मचारीहरुलाई मात्र नेपाल ल्याउने गरी हप्तामा सात उडान (दैनिक एउटामात्र हुने गरी)को अनसमति दिने।

यसरी नियमित उडानमाल आउनेले जहाज चढ्नु ७२ घण्टाअघिको आरटी–पीसीआर नेगेटिभ भएको प्रमाणपत्र कोभिड१९ संकट व्यस्थापन केन्द्रको वेबसाइटमा रहेको नेपाल आउनेले भर्नुपर्ने अनलाइन फर्म भरेरसोको बारकोड वा प्रिन्ट कपी र कम्तीमा सात दिन होटल क्वारेन्टिनमा होटल क्वारेन्टिनमा अनिवार्य बस्ने गरी होटल बुकिङको प्रमाण साथ लिई आउने सर्तमा उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाहन गर्ने। नियमित उडानमा आरटी पीसीआर परीक्षण नगराएका वा होटल नगरेका कुनै यात्रूहरु लिएर आएको वा अन्य अनियमितता गरेको पाइएमा सम्बन्धि वायूसेना कम्पनिलाई नागरिक उड्डयन मन्त्रालयले कारबाही गर्ने।

१२. नेपाल सरकारले श्रमिकको उद्धारका लागि साउदी अरब, यूएई, कतार, कुवेत, मलेसिया आदि मुलुकबाट सञ्चालन थरकेो उद्धारउडानलाई ताकिएको संख्यामा यात्रु आउन पाउने गरि निरन्तरता दिने। उद्धार उडानबाट आउने आरटी पीसीआर नेगटिभ भएको प्रमाण पत्र भएका सबै यात्रुलाई दर्ता र स्वास्थ्य परीक्षणको कार्य सकिएपछि कम्तिमा १४ दिन होम क्वारेन्टिनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्ने।

१३. एउटै उद्धार उडानमा पीसीआर नेगटिभ भएका र परीक्षण नगरेका व्यक्तिलाई मिसाएर ल्याउन पाइनेछैन। यसरी ल्याएको पाइएमा प्रचलित कानून बमोजिम सम्बन्धि एयरलाइन्सलाई कारवाही हुनेछ।

१४. पीसीआर परीक्षण नगरी अन्य परीक्षण गरेर नेपाल आएका सबै व्यक्तिहरु आफ्नै खर्चमा कम्तिमा सात दिन पर्यटन मन्त्रालयको समन्वयमा जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रबाट सूचीकृत होटलमा अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्नेछ। यसरी आएका व्यक्तिहरु क्वारेटिनमा बसेको ५ दिनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने र नतिजा नेगेटिभ आएमा थप ७ दिन होम क्वारेन्टिनमा बस्नेगरि जान दिने। एयरलाइन्सले सम्बन्धित यात्रुले छानेको सूचीमा रहेका होटलको दर अनुसारको रकम टिकट काट्दा नै उठाउनु पर्ने र उक्त खर्च एयरलाइन्सले होटललाई भुक्तानी गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने।

१५. जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रबाट होटल क्वारेन्टिनका लागि सूचीकृत होटलहरुको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले, परराष्ट्र मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेबसाइटमा सार्वजनिक गर्ने र विदेशस्थित सबै नेपाली नियोगहरु तथा सम्बन्धित सबै वायुसेनाहरुलाई जानकारी गराउने। उपर्युक्त बमोजिमको उडान व्यवस्थापन गर्दा अन्य आवश्यक कुराहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्ने।

१६. सरकारकातर्फबाट भएका कार्यहरु, जनस्वास्थ्यका लागि पालना गर्नुपर्ने मापदण्डहरु, सुरक्षाका प्रबन्धहरु, विभिन्न स्वास्थ्य प्रोटोकलहरु, संक्रमणको सूचना दिने, संक्रमितलाई उपचारमा ल्याउने, सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने विषयहरु, संक्रमणपछि ध्यान दिनुपर्ने विषयहरु, रोगको संक्रमणबाट जोगिन र संक्रमण भए शीघ्र स्वास्थ्य लाभ गर्न गर्नुपर्ने कार्यहरु र गर्न नहुने विषयहरु, मनोबल उच्च राख्ने, सतर्कता अपनाउने र दैनिक व्यवहार गर्दा ध्यान दिने विषयहरु समेटिएको जानकारीमूलक सन्देश स्वास्थ्य तथाजनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिरुक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरी, स्थानीय तहलगायतका निकायबाट माइकिङ्ग, टेलिभिजन, रेडियो, छापा माध्यम, अनलाइन, पम्प्लेटलगायतका उपयुक्त माध्यमको प्रयोग गरी जनसमुदाय समक्ष सम्प्रेषण गरी गराई जनचेतना अभिवृद्धिको कार्यलाई व्यापकता दिने।

प्रतिकृया दिनुहोस्