Friday, January 15

माछो माछो भ्यागुतो यसपालिको तीज !

August 20, 2020 211

तीज धेरै हिन्दु नारीका लागि मन पर्ने पर्व हो । हिजोआज समय फेरिँदै जाँदा र मानिसको सोचाइको दायरा फराकिलो हुँदै जाँदा तीज नमनाउनेको संख्या बढेको र तीज मनाउने प्रचलन फेरिँदै गए पनि यो पर्वको रौनक कम भएको छैन ।

यस वर्ष कोरोना महामारीको डर र प्रशासनिक तथा राजनीतिक नेतृत्वको विभिन्न निर्णय र निर्देशनले धेरै नारीहरुको यो तीज विगतको जस्तो पक्कै हुने छैन ।

शहरका पार्टी प्यालेस र मानिसका घरमा दर खाने रमाइलो यस वर्ष देखिएको छैन । सामान्य ढंगले माइतीमा आमा, दिदी बहिनी भेट भएर तीज मनाउनेहरुले पनि कोरोना महामारीको डर, निषेधाज्ञा र यातायात सहज नहुँदा एक्लाएक्लै बसेर वा सानो जमघटमै तीज मनाउनुपर्ने छ ।

गाउँमा जन्मिएको र हुर्किएको हुनाले मेरो शहरी तीजको अनुभव छैन, पढाइको सिलसिलामा ४ वर्षअघि काठमाडौं आए पनि यहाँमा दर खाँदै हिँड्ने र जात्रा र तीज महोत्सवमा सहभागी हुने साथी संगती मेरा भएनन् । त्यसैले शहरको रमाइलोमा भुल्नुभन्दा तीजमा माइत जान नसके पनि विगतमा मनाएकै तीजका सम्झना सँगालेर बस्नुको विकल्प भएन ।

तीज मान्ने प्रचलन गाउँ र शहरमा आकाश जमिनको फरक छ । आमाहरुको पालामा तीज वेदनाको पोको फुकाउने पर्व थियो । किनकि उनीहरुलाई अहिलेका महिलालाई भन्दा थिचोमिचो बढी थियो । घरमा सबैभन्दा कम हैसियत बुहारीकै हुन्थ्यो । अहिलेजस्तो श्रीमानसँगै शहरमा जाने बस्ने प्रचलन हुँदैनथ्यो । पति जागिर खान शहर बसे पनि पत्नीलाई घरमै राख्ने चलन हुन्थ्यो ।

धेरै लोग्ने मानिसहरु पनि गाउँघरमै खेती किसानी गर्थे । संयुक्त परिवारमा बस्ने, खेतबारी र बिहान सबेरैदेखि राति अबेरसम्म मेलापात र घरधन्दाको काम हुन्थ्यो । बुहारी भनेको पति र सासू ससुराको स्याहार सम्भार गर्ने (दासी) जस्ता हुन्थे । आफ्नो खुशीका लागि बुहारीले केही गर्न सक्दैनथे ।

अधिकार, कर्तव्य भेदभावजस्ता विषय कुन चरीको नाम हो, थाहा थिएन । सासू ससुरा र पतिलाई देवतासरह पुज्नुपर्ने, उनीहरुका लागि सेवा गर्नुपर्ने समय थियो । दोस्रो बिहे गर्ने पुरुषलाई पुरुषार्थी मानिन्थ्यो, घर परिवार रिझाउन सकेन भने पतिले दोस्रो बिहे गर्ने डर देखाइन्थ्यो ।

कृषिबाहेक अरु पेशा नहुनाले खेतबारीको काम गर्नुपर्दा बढी शारीरिक दुःख थियो । यस्तोमा घरको कम हैसियतवाला बुहारी नै बढी जोतिनु सामान्य हुन्थ्यो ।

शहरका गीतमा गहना र आइफोनको चर्चा हुँदा गाउँका गीतमा दैनन्दिन गरिने मेलापर्वका कुरा, नारीका दुखः, पीडाकै विषय जोडिन्थे । गीत दुखः पीडाकै भए पनि दुखः पीडा भिलाउने र मनोरञ्जन गराउने साधन बनेका थिए ।

दिदीहरु एकलसरो भएकाले दर खाने दिनको साँझसम्म आइपुग्नुहुन्थ्यो । बाआमा, दिदीहरु सबै किसान नै भएकाले खेतीपाती, बाख्रा भैंसीका कुरा, छोराछोरीको पढाइका कुरा हुन्थे । यस्ता गफ सकिएपछि तीजको गीत गाउन आँगनमा झर्थे ।

तीज आउनुभन्दा १०/१५ दिनअघिदेखि गाउँमा तीजका भाका सुनिन थाल्थे । अहिलेजस्तो युट्युबमा गीत हेर्ने, सुन्ने चलन थिएन । एफएमहरुमा तीज गीत सुन्ने चलन पनि धेरै पुरानो होइन । गाउँमा कोदो रोप्न खेताला बोलाउँदा पनि मेरो मेलामा तीज गीत गाउने, सेल खाने रमाइलो गर्ने भनेर बोलाइन्थ्यो ।

बरु एक/दुई जना खेताला बढी नै खोजिन्थ्यो । खेतालाले काममा थकाइको महसुस नै गर्नुपर्दैनथ्यो, गीत गाउँदागाउँदै मेलो सकिन्थ्यो । खेतालाले गीत गाएको सुन्न बाटो हिँड्नेहरु पनि अडिन्थे ।

मेरो मानसपटलमा तीज भन्नेवित्तिकै हाम्रो घर, वल्लो पल्लोघरतिरका दिदीहरु आउनुहुन्छ, घरमा नाचगान हुन्छ, मीठा खानेकुरा पाक्छन् भन्ने स्मृति आउँछ । मेरी चार जना दिदी एकैपटक माइतीघरमा जम्मा हुने भनेको तीजमै हो । उहाँहरु तीजमा आउँदा छोराछोरी पनि सँगै आउँथे, उमेरमा म सरहकै । साइनोले छोरी भए पनि समान उमेरका भएकाले सँगै नाच्ने खाने खेल्ने गर्न पाउँदा म खुब खुशी हुन्थेँ ।

बुबाका पाँच दाजुभाइका गरी १३ जना छोरीहरु थियौं । केही दिदीहरुको बिहे गरिसके पनि, धेरै हामी कलिलै उमेरका थियौं । तीजको समयमा दिदीहरुको जमघट भएपछि समय विशेष बनिहाल्थ्यो । तीजको दिन दिदीहरुले गीत सुनाउनुहुन्थ्यो, दाजुभाइहरुले मादल बजाउँथे । गीत घन्किन थालेपछि छिमेकतिरबाट पनि दिदी बहिनी जम्मा हुन्थे ।

बिहे भएका दिदीहरुले आफ्ना भोगाइ गीतमार्फत सुनाउँथे । हामी सानाहरु स्वर मिलाउने र नाच्ने गथ्यौ । तीजको दिन १२/१ बजेसम्मगीत गाइन्थ्यो त्यसपछि दर खाने सुरसार हुन्थ्यो । तीजको दर बुबाले बाँड्ने चलन थियो ।

तीज सुरु हुने ५/७ दिन अघिदेखि माइली आमाले छोरीहरुसँग मिलर साँझमा गीत गाउनुहुन्थ्यो । हामी कहिले खाँदाखाँदैको भाग छोडेर त कहिले चाँडै चाँडै खाना खाएर सुन्न दौडिन्थ्यौं । किसानको घरमा बस्तुभाउ पनि धेरै नै हुने भए । तीजमा काट्नुपर्छ भनेर सप्रेको घाँस साँचेर राखिन्थ्यो । तीज सुरु हुने दुई/तीन दिनअघिदेखि धेरै घाँस काटेर थुपार्ने र तीजका बेलामा नाचगान र गफगाफ गर्ने र घरमै थकाइ मार्ने चलन हुन्थ्यो ।

तीजका लागि भनेर काँक्रो थाँक्रामै राख्ने चलन हुन्थ्यो । क्राँक्रो पाकेर रातो भइसकेको हुन्थ्यो । घरमा नफलेको वर्ष बेच्न ल्याउनेहरुबाट किनिन्थ्यो । काँक्रोसँगै निगालोको टुसा पनि गाउँघरतिर बेच्न ल्याउँथे दरमा घिउ टुट्ने कुरा भएन । घरमै दुहुना भएका बेला तीजका लागि घिउ सँगालेर राख्ने चलन हुन्थ्यो, घरमा नभएकाहरुले पैंचो लिएर वा आफ्नो घरमा रहेका अन्य वस्तुबाट साटफेर गरेर जोहो गर्थे । दरको रुपमा घिउभात, दूध, दही केरा, काँक्रो, टुसा, गेडागुडीको परिकार पाक्थ।

तीजकै लागि बारीमा केरा साँचिन्थ्यो, छैन भने किनेर ल्याइन्थ्यो । त्यसलाई तीजकै दिन पाक्ने गरी असुरो, अबीर हालेर बोरामा बाँधेर तातोमा राखिन्थ्यो । शहरमा जस्तो डेरीबाट दूध, घिउ, दही चाहिएको बेला चाहिएजति ल्याउन मिल्दैन गाउँमा । त्यसैले गाउँमा दूध धेरै हुनेको घरमा पहिले नै भनिराख्नुपर्थ्यो । सक्नेहरुले घरमै दुहुना पाल्थे ।

दरको परिकारमा माछामासु हुँदैन, भोलिपल्ट ब्रत बस्ने हुनाले शुद्ध खाने चलन थियो । तीजको २/४ दिनअघि दिदी लिन जाने, सँगै लिएर आउने र सँगै लिएर आउन सम्भव नभए दर खाने दिनसम्म आउनु भनेर फर्किने चलन थियो । हिजोआज त टेलिफोनबाटै भेटघाट र जमघटको बन्दोबस्त गरिन्छ ।

दिदीहरु एकलसरो भएकाले दर खाने दिनको साँझसम्म आइपुग्नुहुन्थ्यो । आउँदा साँझ दूध दुहेर पनि ल्याउनुहुन्थ्यो । बाआमा, दिदीहरु सबै किसान नै भएकाले खेतीपाती, बाख्रा भैंसीका कुरा, छोराछोरीको पढाइका कुरा हुन्थे । यस्ता गफ सकिएपछि तीजको गीत गाउनका लागि आँगनमा झर्थे ।

तीज गीत फुपुदिदीले राम्रो गाउनुहुन्थ्यो । हामी स्वर मिलाउँथ्यौं । पालैपालो गरेर नाच्थ्यौं ।

भोलिपल्ट ढिला उठिन्थ्यो, त्यसपछि नुहाइ–धुवाइ गरेर तीजका लागि भनेर किनेको लुगा वा अगाडि नै किनेको भए पनि राम्रो कपडा लगाएर जात्रा हेर्न बजार झरिन्थ्यो । त्यहाँ धेरै झुण्ड झुण्ड भएर गीत गाउनेहरु हुन्थे ।

पछिल्लो समय मुखले गीत गाउने भन्दा क्यासेट वा साउन्ड सिस्टममा गीत बजाएर नाच्ने प्रचलन बढे पनि पहिले टोलटोलका मानिसहरु झुण्ड झुण्ड बसेर गीत गाउँथे । धेरैजसो मानिसहरु पालैपालो सबै झुण्डको गीत हेर्दै रमाइलो लिन्थे । साँझसम्म घर पुग्ने अनुमान गरेर फर्किन्थ्यौं । बाटोमा पनि गीत गाउने र नाच्ने गरिन्थ्यो ।

घरमा आई पूजा सामग्री तयार पारेर पूजा गरिन्थ्यो । त्यो दिन अन्न नखाई दूध दही, केरा काँक्रोजस्ता फलफूल खाएर बसिन्थ्यो ।

ऋषिपञ्चमीका लागि अघिल्लै दिन दतिवन केलाउने, हलोको टुँडोको माटो, तुलसीको फेदको माटो, अमलाको फेदको माटो के के हो के के चाहिने ? जम्मा पारिन्थ्यो । ऋषिपञ्चमीका दिन बिहानभर लगाएर नुहाइन्थ्यो, दिनभर आँगनको जग्गेमा घुमीघुमी पूजा गर्दै नाच्ने गाउने गरिन्थ्यो । त्यस दिन एउटा टुसाबाट उम्रेको खानेकुरा खानुपर्छ भन्ने मान्यता थियो, त्यसैले हामी पिँडालुको गाभा खाइन्थ्यो ।

तीज सकिएपछि फेरि घर पुर्‍याउन जानुपर्थ्यो । माइतीघर, आमा छोडेर जानुपर्दा दिदीहरु रुँदै जानुभएको सम्झना झल्झली आइरहेको छ । आज आफू माइतीदेखि टाढा हुँदा सम्झनामा एक्लै रोइरहेको छु ।

काठमाडौं आएपछि तीज मनाउन माइत जान पाएको छैन । कहिले पढाइ, कहिले बच्चा सानो भनेर त कहिले बाढी पहिरोले सडक भत्केर गाडी चलेन भनेर गएको छैन । तीजमा शहरमा पनि सबै खानेकुराका परिकार जुटाइन्छ, तर मन कता कता खल्लो हुन्छ । आमा र दिदीबहिनी जम्मा भएर मनाएजस्तो हुँदैन रहेछ । सबैथोक भएर पनि केही नभएजस्तो एक्लो महसुस हुँदो रहेछ ।

तीजमा माइतीघरमा जम्मा भएका दिदीहरु र आमाले शहरिया भइस् माइत आउन छाडिस् भन्नुहुन्छ । मन कुँडिन्छ । शरीर यता भए पनि मन उहीँ पुगिरहेको हुन्छ ।

१३/१४ जना दिदीबहिनी बिहे भएर धेरैतिर छरियौं, तीजको दिन जम्मा हुने भनेको २/४ जनामात्रै हो । कोही टाढा छन्, माइत जान बाटो राम्रो नहोला, कोही जागिर खान्छन् धेरै छुट्टी नहोला, कोही पढ्दैछन्, आउन जानको हतार ।

कसैको सानो बच्चा छ, लिएर हिँड्न गाह्रो । बाध्यता पनि के के हो के के ? तैपनि यसपालि जानुपर्ला भनेको कोरोना महामारीले रोक्यो ।

त्यसैले दुर्गेश थापाले गीतमा भनेजस्तै भएको छ । माछोमाछो भ्यागुतो यसपालिको तीज !

प्रतिकृया दिनुहोस्