Thursday, March 4

विदेशबाट ९ लाख नेपाली नेपाल भित्रिदै, व्यवस्थापन गर्न नेपाली सेनाले लियो जिम्मा

May 31, 2020 525

काठमाडौँ । भारतबाट स्थलमार्ग हुँदै भित्रिएका नेपालीलाई घरसम्म पुर्‍याउने गरी आवश्यक सवारीसाधन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाल प्रवेश गरेकाहरूको तीनपुस्ते विवरण संकलनका लागि ‘होल्डिङ सेन्टर’ मा राख्ने र त्यसपछि सेनाले व्यवस्था गरेका सवारीसाधनमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यसतर्फ पठाउने व्यवस्था सरकारले गरेको हो ।

यसका लागि स्थानीय प्रशासन र प्रदेश सरकारसँग समन्वय गरेर यातायात व्यवसायीलाई आवश्यक सवारीसाधन उपलव्ध गराइदिनेबारे छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो समय भारतले सीमावर्ती क्षेत्रमा लकडाउन हटाएसँगै नेपालीको रेखदेख र दैनिक जीवन निर्वाहमा चासो दिन छाडेपछि सरकार स्वयंले नै पहल गरेर उनीहरूलाई स्वदेश ल्याउन लागेको हो ।

त्यसकै लागि सीमावर्ती जिल्लास्थित प्रशासन कार्यालयसहित प्रदेशस्थित सुरक्षा संयन्त्रमार्फतभारतीय सिमानामा आएर रोकिएकाको विवरण संकलन कार्य भइरहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । सेनाले बनाएको खाकाअनुसार तत्काल भारतसहित विभिन्न मुलुकबाट ९ लाख जना स्वदेश भित्रिन सक्ने अनुमान छ ।

‘भारतबाट स्थलमार्ग हुँदै नेपाल आउन चाहनेको विवरण संकलन कार्य जिल्ला प्रशासन कार्यालयबाट भइरहेको छ,’ प्रवक्ता पाण्डेले कान्तिपुरसँग भने, ‘जो–जो आउन चाहेका छन्, तोकिएका नाकामा आवश्यक स्वास्थ्य परीक्षण गर्ने, प्रदेश र स्थानीय तहअनुसार नाकामै सवारी व्यवस्था गरिने र सम्बन्धित प्रशासन र स्थानीय तहसँगको समन्वयका आधारमा सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नेछन् ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्