३ भदौ, काठमाडौं । नेपालीले कोरोनाको कहर खेप्न थालेको ६ महिना पुग्दैछ । महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले अर्थतन्त्र, सर्वसाधारणको आम्दानी र रोजगारीमा गहिरो असर देखिन थालेको छ ।मुख्य चाडपर्व नजिकिँदै गर्दा चहलपहल बढ्नुपर्ने बजार क्षेत्रबाट व्यापारीहरू पलायन हुने अवस्था सिर्जना भएको छ । काठमाडौंका व्यस्त चोक न्युरोड, बसन्तपुर, ठमेल, लाजिम्पाटलगायत भित्री बजारहरूमा साना तथा मझौला व्यापार–व्यवसाय गरेर बसेकाहरू सटर छोडेर हिँड्न थालेका छन् ।
विशाल बजारमा एकदर्जन जति व्यापारीले सटर छाडिसकेको शर्माले बताए । कोरोनाको जोखिम बढेकाले यतिबेला विशाल बजार क्षेत्रमा सिल गरिएको छ ।उता ठमेल क्षेत्रको व्यापार पनि ठप्प छ । मासिक एक लाख भाडा तिर्नुपर्ने सटरहरू धमाधम खाली हुन थालेको व्यापारीहरू बताउँछन् । सटर पाउन हानथाप हुने ठमेल क्षेत्रमा यतिबेला सटर छोड्नेहरू बढेको पर्यटन व्यवसायी नारायण अर्यालले बताए ।
सलामी तिरेर किन्नुपर्ने ठमेलका सटरहरू अहिले निकै सस्तो भाडामा पनि नगएको अर्का व्यवसायी हरि पौडेल बताउँछन् । घरबेटीले बस भनेर आग्रह गर्दा पनि पसलेहरू सटर छोडेर गएको उनले बताए । ठमेलको सडक छेउका करिब ३०० सटर खाली भइसकेको अनुमान छ ।होटल व्यवसायी राजु श्रेष्ठ कारोनाले व्यापारिक क्षेत्रमा भोक–निन्द्रा नलाग्ने अवस्था ल्याएको बताउँछन् । ‘ठमेलका आधा होटल–रेस्टुरेन्ट बन्द हुने अवस्था आइसक्यो’, उनले भने ।
साना व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अनुसार देशभर ४५ प्रतिशत व्यावसायिक प्रयोजनका सटरहरू खाली भएको छ । पाँच लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गरेर व्यवसाय थालेकाहरू समाप्त नै भएको र एक करोडसम्म लगानी गरेका मझौला व्यवसायीहरू धरासायी भएको महासंघका अध्यक्ष नरेश कटुवाल बताउँछन् ।
‘सरकारले केही सहयोग नगरेपछि निराश बनेका व्यवसायीहरूका अगाडि विस्थापन हुनभन्दा अर्को विकल्प रहेन’, कटुवालले भने ।राष्ट्र बैङ्कले अर्थतन्त्र र व्यवसायमा कोभिड–१९ को असरबारे गरेको एक अध्ययनअनुसार ६१ प्रतिशत व्यवसाय यही कारण पूर्णरूपमा बन्द भएको छ । अधिकांश उद्योग–व्यवसाय बन्द रहनुले अर्थतन्त्रमा गहिरो असर पारेको राष्ट्र बैङ्कको निष्कर्ष छ ।
कम आय भएकाले सहर छोडे
कोरोनासँगै सुरु भएको लकडाउनले गर्दा न्यून आय भएका मानिसले सहर छोड्ने क्रम ह्वात्तै बढेको डेरावाला मञ्चले जनाएको छ । दालभात खानै नपुग्ने भएर मानिसहरू गाउँ फर्कँदा काठमाडौंका घरहरूमा कोठा खाली हुन थालेको मञ्चका अध्यक्ष रामकृष्ण शर्मा बताउँछन् ।‘धेरैको आम्दानी गुम्यो, भएकाको पनि घट्न थालेपछि खर्च कटौती गर्न मानिसहरू फ्याल्ट छोडेर सस्तो कोठमा सरेका पनि छन्’, शर्माले भने ।
काठमाडौं उपत्यकामा करिब ३४ लाख मानिस भाडामा बस्ने उनको दाबी छ । लकडाउनको बेला धेरै ठाउँमा घरबेटी र भाडावालाबीच मनमुटाव भएको उनले बताए ।
प्रतिकृया दिनुहोस्