Friday, January 22

भरतपुर महानगरका १ सय २ कर्मचारीलाई २१ लाख ९३ हजार रूपैयाँ लकडाउन भत्ता

August 13, 2020 99

भरतपुर महानगरपालिकाले आफ्ना कर्मचारीहरुलाई प्रोत्साहन भत्ता बाँड्न थालेको छ। लकडाउन सुरु भएपछि असार मसान्तसम्म काम गरेका कर्मचारीहरुलाई महानगरले आन्तरिक स्रोतबाट भत्ता दिन थालेको हो।

प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीकाअनुसार कर्मचारीलाई उनीहरु खटेको समयका आधारमा शत प्रतिशत भत्ता दिने निर्णय भएको छ। महानगरले १ सय २ जना कर्मचारीहरुलाई भत्ता दिनका लागि २१ लाख ९३ हजार ७ सय ९४ रुपैयाँ छुट्टाएको जोशीले बताए।

‘भत्ता सबैका लागि समान होइन, काममा खटाइको हिसाबले शत प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेका छौं’, उनले भने, ‘महामारीको समयमा खटेका कर्मचारीहरुलाई प्रोत्साहन मिलोस् भनेर भत्ता उपलब्ध गराइएको हो।’महानगरको भत्ता पाउनेहरुमा उच्चस्तरका कर्मचारी देखि कार्यालय सहयोगी, चालक, सुरक्षा गार्डसम्म छन्।

फ्रन्टलाइनमा खटिएका कर्मचारीहरुले घोषित सुविधा नपाइरहेको समयमा महानगरले आफ्ना कर्मचारीहरुका लागि भने शत प्रतिशत भत्ता वितरण गरेको हो। यसरी भत्ता पाउनेमा महानगरका २९ वटै वडाका सचिवहरु पनि छन्।

‘महानगरका पनि स्वास्थ्य क्षेत्रमा खटेका कर्मचारीहरु छन्, सरसफाईमा खट्दै आएका कर्मचारी देखि नगर प्रहरीहरु जोखिम मोलेर काम गरेका छन्’ उनले भने ‘हामीले उनीहरुलाई लक्षित गरेर भत्ता उपलब्ध गराएका हौँ।’

महानगरले लकडाउनको अवधिभरमा विपन्न वर्गका लागि भनेर ८७ लाख ५७ हजार ६ सय १९ रुपैयाँ बराबरको राहत वितरण गरेको छ। यो राहत नगरका १६ हजार ३ सय ९२ घरधुरीका लागि थियो। औसतमा प्रतिघर ५ सय ३४ रुपैयाँ बराबरको राहत महानगरले बाँडेको थियो।

महानगरले उपलब्ध गराएको रकम पर्याप्त नभएपछि केही वडाहरुले आफैले दाता खोजेर पनि राहत बाँडे। ‘आवश्यक बजेट नपाउँदा जनतालाई दिल फुकाएर राहत दिन पाइएन, महानगरले जति बजेट दियो त्यतिमै चित्त बुझाउनुपर्यो’, भरतपुर–८ का वडाध्यक्ष दामोदर न्यौपानेले भने, ‘जनतालाई दिनुपर्दा पैसा छैन भन्ने तर कर्मचारीहरुलाई भने अनावश्यक रुपमा पनि बाँड्नु त गलत हो।’

यद्यपी महानगरअन्तर्गत फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्छ भन्ने पक्षमा आफू रहेको उनले बताए। कोरोना भाइरसको महामारीसँगै स्थापना गरिएको प्रकोप व्यवस्थापन कोषमा संकलित रकमले मात्र जनतालाई राहत वितरण गरिएको हो। त्यतिखेर उक्त कोषमा रकम जम्मागरी सहयोग गर्न महानगरले आह्वान नै गरेको थियो।

महानगरकी सूचना अधिकारी मेनका पण्डितकाअनुसार विभिन्न संस्था तथा व्यक्तिले गरेको सहयोगसमेत गरेर उक्त कोषमा २ करोड १९ लाख रुपैयाँ जम्मा भएको थियो। कोषमा महानगरले डेढ कोरोड रुपैयाँ जम्मा गरेको थियो।

उक्त कोषबाट क्वारेन्टिन व्यवस्थापनका लागि ६९ लाख ४९ हजार ८ सय ४० रुपैयाँ खर्च भएको पण्डितले बताइन्। क्वारेन्टिनमा बस्ने सबैका लागि खाना, खाजा र चिया खर्चबापत प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ पनि यही बजेटमार्फत खर्च भएको उनले बताइन्।

यद्यपी क्वारेन्टिनमा बस्ने कतिपयले भने महानगरकोतर्फबाट कुनै पनि सहयोग प्राप्त नभएको गुनासो गरेका छन्। भरतपुर–२६ का जंगलाल रिमालले १९ दिनसम्म क्वारेन्टिन बस्दा पनि कुनै सहयोग नपाएको बताए।

‘कारेन्टिनमै खाना दिने, नभए बाहिर बाट ल्याउन १४ दिनका लागि निश्चित रकम उपलब्ध गराउने भन्ने निर्णय रहेछ’, रिमालले भने, ‘तर मैले त न खाना पाएँ, न रकम।’ खाना पनि घरबाटै ल्याएर खाएको उनले बताए।

भारतको बनारसबाट फर्किएका उनी स्थानीय आदर्श उच्च माविको क्वारेन्टिनमा बसेका थिए। उनले आफूसँग बसेका कसैले पनि उक्त सुविधा नपाएको दाबी गरे।

भारतबाट फर्किएर १६ दिन क्वारेन्टिनमा बसेका भरतपुर–२० का सुनिल महतोले भने क्वारेन्टिन छोड्दा खाना खर्चस्वरुप ३ हजार ९ सय रुपैयाँ पाएको बताए।

प्रतिकृया दिनुहोस्