Monday, March 8

पिसिआर रिपोर्ट नभएर अस्पतालले भर्ना लिन नमान्दा मृत्यु भएका किशोरको कोरोना रिपोर्ट नेगेटिभ

August 12, 2020 159

झापामा अस्पताल चहार्दाचहार्दै मृत्यु भएका कन्काई नगरपालिका वडा नम्बर ५ का १७ वर्षीय किशोरको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

मेची अञ्चल प्रादेशिक अस्पताल भद्रपुरमा मंगलबार बिहान उनको मृत्यृपछि स्वाब संकलन गरिएको थियो। साँझ उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।

फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भएका रोशन सुनारको झापाका निजी अस्पतालले उपचार गर्न नमान्दा मंगलबार मृत्यु भएको थियो।

मृतकका आफन्तले सुरूंगाको मेरिगोल्ड, विर्तामोडको विर्तासिटी, कन्काई र मनमोहन अस्पतालमा उपचारका लागि लगेका थिए। तर, अस्पतालले बिरामीको पिसिआर रिपोर्ट भएमात्र भर्ना गर्ने भनेपछि बिरामीलाई प्रादेशिक अस्पताल मेचीमा लगिएको थियो।

मेची प्रादेशिक अस्पतालले भर्ना लिएर उपचार सुरू गरेपछि रोशनको श्वासप्रश्वासमा गम्भीर समस्या देखिन थालेपछि उनलाई आइसियूको आवश्यकता परेको भन्दै नजिकैको ओमसाई पाथीभरा अस्पताल लैजान बिरामीका आफन्तलाई सो अस्पतालले सल्लाह दिएको थियो।

तर त्यहाँ पनि बिरामीको पिसिआर रिपोर्ट मागिएको थियो। पछि युवकको ओमसाइ अस्पतालमै मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस्