Monday, March 8

OMG<<२० वर्ष सजाय तोकिएका व्यक्ति २२ वर्षपछि पक्राउ

August 11, 2020 67

सल्यानमा कर्तव्य ज्यान मुद्दामा अदालतद्धारा २० वर्ष कारावासको सजाय तोकिएका एक फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन्।

जिल्लाको साविक निगालचुला गाविस वडा नं. २ निवासी हाल ६६ वर्षीय ईन्द्रे कामी बिक्रम संवत २०५५ साल कात्तिक ५ गते दिउँसो स्थानीय २३ वर्षीय मनबहादुर कामीको बञ्चरो प्रहार गरि हत्या गरेका थिए।

तिहारको भाइटिकाको दिन मदिरा सेवन पछि भएको सामान्य विवादको क्रममा कामीले विकलाई बञ्चरो प्रहार गरि हत्या गरेर रातिको समयमा जंगलमा लगेर शव गाडेका थिए।

स्थानीय नरसिंह कामीको घरदेखि अन्दाजी ३० मिनेट टाढा पर्ने सेवरखोली भन्ने जंगलमा कामीले विकको शव गाडेको अवस्थामा फेला परेको थियो।कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सल्यानले कामीलाई २० वर्षको जेल सजायको फैसला सुनाएको भएपनि उनी फरार रहँदै आएका थिए।

जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले कामी हाल सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. १ स्थित आफ्नै घरमा लुकीछिपी बस्दै आएको भन्ने गोप्य सूचनाका आधारमा आइतवार प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिए।

डिएसपी खतिवडाले पक्राउ परेका कामीलाई सम्मानित अदालतले तोकेको सजाय भुक्तानका लागि सोमबार नै अदालत समक्ष पेश गरेपछि आदेशले जेल चलान गरिएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्