Wednesday, January 27

बुद्धबारे भारतसँग सरकारले औपचारिक कुरा गर्नुपर्छ: माधव नेपाल

August 9, 2020 103

पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालले बुद्धबारे भारतीय विदेश मन्त्रीको एस जयशंकरले दिएको अभिव्यक्ति तथ्यहीन र आपत्तिजनक रहेको बताएका छन्।

भारतीय विदेश मन्त्री जयशंकरले शनिबार एक कार्यक्रममा बुद्धलाई आफूले महान् भारतीय   मान्ने गरेको बताएका थिए।नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेतासमेत रहेका नेपालले बुद्ध नेपालमा जन्मिएको ऐतिहासिक प्रमाण हुँदाहुँदै पनि भारतले यस्तो दाबी गर्नु तथ्यहीन र आपत्तिजनक भएको बताएका हुन्।

‘भारतीय विदेश मन्त्री एस जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ,’ आइतबार फेसबुकमा स्टाटस  लेख्दै नेता नेपालले भनेका छन्, ‘ऐतिहासिक तथ्य प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा नरहँदै बेला बखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल प्रभाव पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदमै बुद्ध नेपालमा जन्मिएका हुन् भनेर प्रष्ट उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दु:खद रहेको नेपालको भनाइ छ।

‘यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु,’ नेता नेपालले भनेका छन्।यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको अभिव्यक्तिमा आपत्ति जनाएको थियो।आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य आफूहरूका लागि स्वीकार्य नहुने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका हुन्।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्। त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरूद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले आइतबार ट्वीट गर्दै भनेका छन्।

उनले वेगको जवाफमा आवेग दुवै देशको हितमा नहुने पनि उल्लेख गरेका छन्। ‘वेगको जवाफमा आवेग दुवै देशको हितमा छैन,’ उनले भनेका छन्, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको। आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्। मुल विषय मोड्न सक्छन्। तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन्।’

उनले बुद्ध नेपालमा जन्मिएको तथ्यबारे संसारमा कहिँबाट पनि नेपालले दर्ता प्रमाण नमागेको उल्लेख गरेका छन्।

‘बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं,’ शर्माको भनाइ छ, ‘भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको हो। फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्त दु:खद छ।’

प्रतिकृया दिनुहोस्