काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम थप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण सम्बन्धि नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्ड अनुसार ज्वरो रुघा, खोकी झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धि समस्या भएका बिरामीहरुको कोरोना परीक्षण गरिने भएको छ । मन्त्रालयले मन्त्रीस्तरको छलफलबाट उक्त मापदण्ड बनाएको हो । जसलाई जनस्वास्थ्य विज्ञहरुले समेत सकारात्मक रहेको बताएका छन् ।
यसअघि उपचारपछि घर पर्किने संक्रमितको परीक्षण नगरी घर पठाउन मन्त्रालयले निर्देशन दिएको थियो । नयाँ मापदण्ड अनुसार अब कोरोना मुक्त भएका संक्रमितहरुलाई घर पठाउँदा परीक्षण गरेर मात्र घर पठाइने भएको हो ।
त्यस्तै दीर्घरोगीहरु, प्रतिरोधी क्षमता कमजोर भएकाहरुको कोरोना टेष्ट गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै नयाँ मापदण्ड अनुसार सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसहरू, विदेशबाट आएका सबै मानिसहरु, फ्रन्टलाइन स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारीहरु , विगत १४ दिनमा कोभिड १९ सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरू तथा आइसियुमा रहेका सबै बिरामीहरूको कोरोना परीक्षण गरिने भएको हो ।
झाडापखालाको कारण राजु सदाको मृत्यु
गत असार ८ गते जनकपुर प्रादेशीक अस्पतालमा झाडापखालाको कारण १६ वर्षीय राजु सदाको मृत्यु भयो । भारतबाट फर्किएका उनको आरडीटि रिपोर्ट पोजेटिभ आएको थियो । भारतबाट फर्किएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र झाडापखालाको समस्याले झन ग्रसित बनाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
गत जेठ ३ गते भारतको अहमदावादबाट आएका सदा गाउँकै क्वारेन्टाइनमा रहेका थिए । १७ दिनसम्म क्वारेन्टाइनमै बसेपछि उनलाई झाडापखाला भएपछि टिप्परमा बसाएर प्रादेशिक अस्पतालको ढोकासम्म ल्याइएको थियो । त्यही उनको स्वाब सङ्कलन गरिएको र समयमै रिपोर्ट नआएका कारण झाडापाखालाको समेत राम्रो उपचार नपाइ असार ८ गते मृत्यु भएको थियो ।
प्रादेशीक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमै उपचार नपाएर सदाको मृत्यु भएपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको थियो । उनको परिवारले अस्पताल तथा चिकित्सकको लापरबाहीको कारण मृत्यु भएको भन्दै कारबाहीको माग गरेका थिए । त्यस्तै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग गर्ने घोषणा गरेको थियो ।
प्रतिकृया दिनुहोस्