Wednesday, March 3

प्रदेश २ मा कोरोना भयावह भएपछि मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई लेखे यस्तो पत्र

May 28, 2020 423

काठमाडौं, १५ जेठ । प्रदेश २ मा एकैपटक कोरोना संक्रमित थपिएपछि मुख्यमन्त्री लालबाबु राउतले संघिय सरकरासंग गुहार मागेका छन् । प्रदेश २ मा एकैपटक ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि मुख्यमन्त्रीले संघिय सरकार गुहारेका हुन् । कोरोनाका कारण उत्पन्न परिस्थिती अब प्रदेश २ ले थेग्न नसक्ने भन्दै मुख्यमन्त्रीले संघीय सरकारका तर्फबाट विशेष सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।

पछिल्लो समय प्रदेश २ र प्रदेश ५ कोरोनाको मुख्य केन्द्र बनेका छन् । प्रदेश ५ को नरैनापुरमा एकै पटक ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि संघिय सरकारसंग सहयोग मागिएको थियो । यता प्रदेश प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै मुख्यमन्त्री राउतले विहिवार आफ्नो प्रदेशको जनशक्तिले धान्न नसक्ने अवस्था भएकाले सहयोगको अपिल गरेका हुन् । उनले प्रधानमन्त्री ओली समक्ष कोरोना परीक्षणका लागि दक्ष जनशक्ति तथा उपकरणका साथै जनजीविकाका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेका हुन्।

भारतसँग खुला सीमाना भएका कारण अहिले भारतवाट ठूलो संख्यामा नेपालीहरु घर फर्किएका छन् । विदेशमा पनि वेरोजगार भएपछि उनीहरु नेपाल फर्कन बाध्य भएका हुन् । उनीहरुवाट कोरोनाको उच्च जोखिम भएका कारण सहयोग आवश्यक भएको मुख्यमन्त्रीको भनाई छ । ठूलो संख्यामा भारतवाट भित्रिएको जनशक्तिको ब्यवस्थापन र कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारका स्रोत, साधन तथा जनशक्तिले मात्र नभ्याउने उनको भनाई छ ।

लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरे पनि लकडाउन थपिदै गएकाले त्यो प्रर्याप्त हुन नसकेको उनले प्रधानमन्त्रीलाई अवगत गराएका छन् । प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण देखिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारका तर्फबाट ठोस कार्यक्रम ल्याउन माग गरेका छन्।

उनले कोरोना परिक्षणका लागि किटको पनि अभाव रहेको औल्याएका छन् । प्रदेशबाट वैदेशिक रोजगारीमा गएका झन्डै १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने सम्भावना रहेकाले ब्यवस्थापनका लागि युवा रोजगार कार्यक्रम, कृषिकेन्द्रित विशेष योजनाका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन उनले पत्रमार्फत प्रधामन्त्रीसँग माग गरेका छन्।

धनुषाका २९ जनासहित प्रदेश २ मा मात्र थप ७६ जनामा कोरोना पुष्टि भएको छ। धनुषाका २९, महोत्तरीका १७, सप्तरीमा १४, सर्लाहीका ७, सिरहामा ६ र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले पुष्टि गरेका छन् । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस्