Monday, January 18

शनिबार यी मन्दिरमा दर्शन गरे दुर्घटना, पिर, दु:ख-संकट सबै नष्ट हुने – सेयर गरौ

August 1, 2020 169

शनिबार भगवान शनिदेवप्रति समर्पित छ । त्यसैले यदि तपाईंको शनिको दशा चलिरहेको छ भने यो दिन मन्दिरमा शनिदेवको पूजा गरेर शान्त पार्न सक्नु हुनेछ । यो दिन भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ । शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ । यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ । शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिबलाई दान गर्दा फल प्राप्ति हुनेछ ।

शनिबारका दिन काठमाडौमा रहेको संकटा मन्दिरको बिशेष महत्व छ । यसैगरी काठमाडौको टुँडिखेलको पश्चिमतिरको कम्पाउन्डछेउमा रहेको महाकालको मन्दिरपनि उत्तिकै महिमा छ । दैलेखमा रहेको विलासपुर भैरव मन्दिरको पनि उच्च स्थान छ । आज शनिबारका दिन दर्शन गर्न छुटाउनै नहुने यी मन्दिरका बारेमा उल्लेख गर्दैछौ ।

महाकाल मन्दिर, काठमाडौ

काठमाडौं, टुँडिखेलको पश्चिमतिरको कम्पाउन्डछेउ महाकालको मन्दिर छ । पश्चिमतिर फर्किएको यो मन्दिर मिलिटरी अस्पतालअगाडि पश्चिम फर्किएको अवस्थामा छ । बाटाको किनारामै रहेको यस मन्दिरमा तीन तहको धातुको छाना छ ।

मन्दिरभित्र कालो रंगको डरलाग्दो महाकालको प्रस्तर मूर्ति छ । कालो प्रस्तरमा निर्मित मूर्तिका कान र नाक लगायतका अंगहरू धातुका पाताले मोरिएका छन् । नरमुण्डमाला लगाएको र शवमाथि उभिएको महाकालको मूर्तिले मुख बाइरहेको देखिन्छ ।

महाकालको स्थापना मध्यकालतिर भएको मानिन्छ । यो मन्दिर कलिगत संवत् ३८२२ मा गुणकामदेवले स्थापना गरेको विवरण वंशावलीहरूमा उल्लेख छ । तर यो संवत् के हो भन्ने कुरा स्पष्ट छैन । महाकालको स्थापनासम्बन्धी एउटा किंवदन्ती प्रचलित छ ।

त्यस अनुसार, एक पटक महाकाल आकाशमार्गबाट चीनतिर जाँदै गरेको एक जना तान्त्रिक गुभाजुले थाहा पाएछन् । टुँडिखेलतिर बाख्रा चराइरहेका ती गुभाजुले यिनलाई नेपालमै राख्ने विचार गरी राजालाई बोलाएछन् । त्यसपछि महाकालको एउटा भव्य मूर्ति बनाई उनलाई यहीं बसी देशको रक्षा गर्न तान्त्रिक विधिले आग्रह गरेछन् ।

तर महाकालले भने आपूm ब्रह्माण्डभर घुमिरहनुपर्ने हुँदा यहाँ सधैं बसिरहन नसक्ने, शनिबार मात्र यहाँ बसी नेपालको सुरक्षा गर्ने बताएछन् । यसरी महाकालले वचन दिएकाले प्रत्येक शनिबार महाकालको दर्शन र पूजनमा श्रद्धालुहरूको भीड लाग्ने गरेको हो भनिन्छ ।

संकटा मन्दिर, काठमाडौ

काठमाडौंको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ ।

संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणामई अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ ।

विलासपुर भैरव मन्दिर, दैलेख

विलासपुर भैरव मन्दिर दैलेख जिल्लाको एक प्रसिद्व मन्दिर हो। यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका अन्तरगत पर्ने विलासपुर डाँडामा अवस्थित छ। यस मन्दिरको अर्को नाम विलासपुर बटुक भैरव पनि भनिन्छ। बाइसे राज्य कालका खस राजा विलासपुरे राजाहरूले कुल देवताको रुपमा पूजा गर्ने प्रचलनमा ल्याएको यो मन्दिरको निकै महत्व मानिन्छ।

विलासपुर मन्दिरको स्थापनाको बारेमा अहिले सम्म कुनै ठोस प्रमाण उपलब्ध हुन सकेको छैन। तर पनि स्थानिय जन श्रुती अनुसार यस मन्दिरको स्थापनाको बारेमा फरक फरक मत पाइएको छ।

विलासपुर राज्यका प्रथम नायक श्री वर्माले विलासपुर राज दरबार नजिकै वि. सं. १४७५ मा आफ्नो कुल देवताको रुपमा भैरवको अमूर्त आकृती सहित प्रस्तरको बटुक भैरव स्थापना गरेर पूजा गर्न सुरुवात गरेका थिए। विलासपुर राज्यका अन्तिम राजा कर्ण शाहीकी रानीले आफ्नो माइती जुम्लाको सिंजाबाट ढलौटको भैरव मूर्ति ल्याएर यहाँ स्थापना गरेर पूजा गर्ने सुरुवात गरेकी थिइन्।

मन्दिर नजिकै रहेको विलासपुर दरबारको भग्नावशेषहरू यत्र तत्र छरिएर रहेका आज पनि देखिन्छन्। विलासपुरे राजाले आफ्नो प्रभाव कायम राख्नको लागी दैवी शक्तिको उपासनाको आवश्यकता बमोजिम श्री वर्माले दरबार नजिकै मन्दिर स्थापना गरेर पूजाको सुरु गरेका र पछि गएर उनका सन्तान दरसन्तानले आफ्नो कुल देवताको रुपमा पूजा गर्दै गएको प्रसङ्ग सान्दर्भिक नै देखिन्छ।

वर्तमान मन्दिरको निर्माण भने वि. सं. २०३८ सालमा गरिएको थियो। यसै तर्कको आधारमा यो मन्दिरको स्थापना पनि बेलासपुर राज्यको स्थापना अर्थात वि. सं. १४७५ को आसपासमा भएको मान्न सकिन्छ। हाल यो मन्दिरमा मन्दिरको प्राचिनतालाई चिनाउने कुनै अवशेषहरू बाँकी रहेका छैनन्।

यहाँ रहेको सुनको छाता ओढाएको वटुक भैरवको मूर्ति र परम्परादेखी मन्दिरमा पूजा गरिदै आएको खड्क वि. सं. २०४४ मा हराएको थियो र आज सम्म पत्ता लागेको छैन। हाल मन्दिर भित्र पूजाको लागी नयाँ मूर्ति स्थापना गरिएको छ।

मन्दिरमा प्रत्यक शनिबार र मङ्गलबारका दिन बोका र कुखुराको बलि सहित पूजा गर्ने प्रचलन रहेको छ। बडा दशैंको नवरात्रभर विशेष पूजा र अनुष्ठान गरिने भएकोले नवरात्रीको अष्टमी, नवमी र दशमीको दिन भक्तहरूको ठुलो घुईंचो लाग्ने गर्दछ।

श्रद्धा पूर्व क पूजा अर्चना गर्नाले भक्तहरूको मनोकाङ्क्षा पूर्ण हुन्छ भन्ने विश्वास बोकेर दैलेख लगायत छिमेकी जिल्ला कालिकोट, जाजरकोट, अछाम लगायत विभिन्न जिल्लाबाट आउने भक्तजनहरूको ओइरो लाग्दछ।

विलासपुर राज्यका अन्तिम राजा कर्ण शाहीका सन्तति स्थानिय निवासी भुपेन्द्र शाहीको अध्यक्षतामा विलासपुर मन्दिर क्षेत्र संरक्षण प्रवर्द्धन एवं व्यवस्थापन समिति गठन गरिएको छ। उक्त समितिले वि। सं। २०६६ सालमा नारायण नगरपालिकाको अनुदान र स्थानिय जनश्रमदान गरेर ३२६ वटा खुडकिला भएको बाटो र प्रवेश द्वार निर्माण गरेको छ। जनबाेली

प्रतिकृया दिनुहोस्