Saturday, January 23

१८ साताकी गर्भवती महिलाको कोरोनाका कारण मृत्यु भएपछि, जङ्गलमा लगेर यसरि गरियो दाहसंस्कार

May 27, 2020 2597

होम क्वारेन्टिनमा निधन भएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी २४ वर्षीया महिलाको शवलाई व्यवस्थापन गरिएको छ । कोरोनाको लक्षण देखिएकी गर्भवतीको चार जना परिवारका सदस्यको उपस्थितिमा कञ्चनरुपस्थित सुन्दरीखोलाभित्रको जङ्गलमा लगेर सतर्कताका साथ शव व्यवस्थापन गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) लगाएका परिवारका सदस्यले स्वास्थ्यकर्मीको निगरानीमा शवको दाहसंस्कार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ का कारण निधन भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ बमोजिम पिपिइलगायत सुरक्षा सामग्री उपलब्ध गराएर सतर्कताका साथ शव व्यवस्थापन गरिएको नगरप्रमुख वसन्त मिश्रले बताउनुभयो ।

कार्यविधिमा सकेसम्म अत्यन्तै नजिकको दाहसंस्कार गर्ने ठाउँमा छिटो शव व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब परीक्षणको रिपोर्ट प्रतिक्षा नगरी कोरोनाको लक्षण देखिएकी गर्भवतीको शव व्यवस्थापन गर्नुपरेको नगरप्रमुख मिश्रले बताउनुभयो । शव व्यवस्थापन अघि बसेको नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले दाससंस्कारमा संलग्न व्यक्तिलाई सेल्फ क्वारेन्टिनमा राख्ने र कन्टयाक्ट ट्रेसिङ टोलीलाई सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो ।

अत्यधिक ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या देखिएकी गर्भवतीको मङ्गलबार घरमा निधन भएको थियो । उहाँलाई १० दिनदेखि ज्वरो आइरहेको परिवारका सदस्यले बताउनुभयो । परिवारका सदस्यले गत बिहीबार राजविराज ल्याएर डा विनिता यादवको क्लिनिकमा गर्भ जाँच गराएका थिए । उहाँलाई पिसाबको सङ्क्रमणका साथै १०२ डिग्री ज्वरोसमेत देखिएपछि केही औषधि दिइ तत्कालै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ‘फिभर क्लिनिक’मा जान सल्लाह दिइएको डा यादवले बताउनुभयो ।

कोरोना सङ्क्रमणसित मिल्ने लक्षण देखिएकाले मङ्गलबार नै मृतकको स्वाब सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । स्वाब सङ्कलनको पिसीआर रिपोर्ट आउन दुईदेखि तीन दिनसम्म समय लाग्ने भएकाले परिवारसँगको सल्लाहमा सुरक्षितरूपमा शव व्यवस्थापन गरिएको यादवले बताउनुभयो । मृतक १८ साताकी गर्भवती थिइन् । उनको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् ।

कोरोनाको आशङ्का गरिएका एकको निधन

सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज निधन भएको छ । गौरीफन्टा सीमानाकाबाट हिजो मङ्गलवार अस्पताल पु¥याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका ५५ वर्षीय पुरुषको बिहान निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताउनुभयो ।

‘‘उहाँलाई कोरोनाको आशङ्का गरिएका बिरामी बस्न बनाइएको छुट्टै आइसोलेसन वार्डमा राखिएकामा बिहान निधन भएको खबर आएको छ, डा पाण्डेयले भन्नुभयो, “कोरोनाको पोजेटिभ हो÷होइन भन्नेबारेमा यकिन हुन बाँकी छ ।” भारतको महाराष्ट्रबाट फर्किँदै गर्दा मङ्गलबार गौरीफन्टा सीमानाकामा बेहोस हुनु भएपछि उहाँलाई उपचारका लागि अस्पताल पु¥याइएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।

उपचारका क्रममा शुरुमा उहाँलाई अस्पतालको आकस्मिककक्षमा र केही समयपछि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । मृतकको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ । कोभिड–१९को डेडिकेटेड अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको ‘कोरोना पोजेटिभ’ आइसोलेसन वार्डमा छ जना सङ्क्रमित उपचाररत छन् । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस्