Sunday, March 7

पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत

July 25, 2020 165

काठमाडौं । तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा पहिरोमा पुरिएर निधन भएका दुई जनाको परिवारलाई आज राहत रकम प्रदान गरिएको छ । साउन ५ गते पहिरोमा पुरिएर निधन भएका ८० वर्षीया तीलमाया धौराली र १५ वर्षीया शिताष्मा धौरालीका परिवारलाई सङ्घ सरकारको तर्फबाट उपलब्ध गराइएको रु तीन लाख राहत रकम प्रदान गरिएको हो ।

तनहुँ निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले उक्त रकम आज मृतकका घरमै पुगेर आफन्तलाई हस्तान्तरण गरेका छन् । पहिरोमा पुरिएर निधन भएका व्यक्तिका परिवारलाई यस अगाडि प्रतिमृतक रु एक लाखका दरले राहत रकम उपलब्ध गराइएको भए पनि सरकारले साउन ४ गते निर्णय गरेर पहिरोबाट मृत्यु हुनेलाई रु दुई लाख र एकै घरका अन्य व्यक्तिको पनि मृत्यु भएमा थप रु एक लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

मानिसको जीवनको मूल्य पैसामा जोख्न नमिल्ने भए पनि राहत रकमले पीडामा मल्हम लगाउन सहयोग पुग्ने सांसद श्रेष्ठले बताए । यसैगरी सांसद श्रेष्ठले व्यक्तिगतरूपमा मृतकका परिवारलाई रु ५० हजार सहयोग गरेका छन् ।

राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले रु २० हजार र वैदेशिक रोजगार व्यवसायी मञ्चका पूर्वउपाध्यक्ष हरि पाण्डेले रु ४० हजार मृतकका परिवारलाई प्रदान गरेका छन् ।

यसैगरी आज नै सांसद श्रेष्ठले व्यास नगरपालिका–९ माझफाँटमा पहिराले पुरिएर निधन भएका एकै परिवारका तीन जनाका आफन्तलाई रु २५ हजार र गजौडेकी मृतक मैतकुमारी घर्तीको परिवारलाई पनि रु २५ हजार उपलब्ध गराए ।

सांसदमा निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गरेका श्रेष्ठले आफूले प्राप्त गर्ने तलबभत्ता विभिन्न सामाजिक सङ्घसंस्थालाई हस्तान्तरण गर्दै आएका छन् ।

असार २९ गते र साउन ५ गतेको पहिरोले तनहुँको व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र भानु नगरपालिकामा १३ जनाले ज्यान गुमाएका छन् भने एक बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस्