Friday, January 22

चितवनमा स्क्रब टाइफसबाट एकको ज्यान गयो

July 21, 2020 173

चितवन / भरतपुर अस्पतालमा उपचाररत स्क्रब टाइफसका एक बिरामीको ज्यान गएको छ । ज्यान गुमाउने भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै श्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको मंगलबार बिहान मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

उनका अनुसार मृत्युको कारणमा स्क्रब टाइफसलगायत अन्य समस्या उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत आवमा डेङ्गुबाट मृत्यु भएका तीन जनामध्ये एक जनामा स्क्रब टाइफस पनि देखिएको जानकारी दिए ।

उनका अनुसार मुसाको जुम्राले टोकेर स्क्रब टाइफस रोग लाग्छ ।

मुसाको जुम्रा झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । चिकित्सकका अनुसार स्क्रब टाइफस रोग लागेमा १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अंग दुख्ने लक्षण देखिन्छ ।

मुख्य गरी मुसाको नियन्त्रण गर्ने तथा झारका काम गर्दा सावधानी अपनाउनुपर्छ ।

प्रतिकृया दिनुहोस्