Friday, January 15

जाजरकोट घटना हिन्दु दर्शनले जन्माएको जातिय छुवाछुत र विभेद होः अध्यक्ष रोका

May 26, 2020 337

काठमाण्डौ । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले जाजरकोट घटना प्रकरणका विषयमा हिन्दु दर्शनले जातिय छुवाछुत र विभेद निम्त्याएको बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक स्टाटस् मार्फत नेपाली समाज जबसम्म हिन्दु दर्शनको आधारमा चल्नेछ तबसम्म यस देशमा जातिय छुवाछुत र विभेदको पर्खाल जिउँदो रहने भन्दै सो कुरा बताएका हुन् ।

अध्यक्ष मगरले हिन्दु दर्शनलाई मानव सेवा र समाज सेवाको रुपमा लागु गर्नकालागी दास युगमा प्रयोग गरिएका मनुस्मृति लगाएतका दर्शन आधुनिक युगसंगै परिमार्जन र विकास गरिनु पर्ने धारणा व्यक्त गरेका छन् । उनले भनेका छन्,‘यदि यसो गरिएन भने यो २१ औं शताब्दिमा हिन्दु दर्शनले सिंगो मानव जातिलाई सेवा नभई घिन लाग्दो पीडा मात्रै दिनेछ ।’

आफ्नो फेसबुक स्टाटसमा अध्यक्ष रोकाले नवराज विकले कथित माथिल्लो जातिको युवतिलाई सहमतिमा प्रेम गर्दा ज्यानै गुमाउनु परेको यो घटनाको जति नै निन्दा गरेपनि कम नै हुने बताएका छन् । उनले घटनाको घोर भत्सर्ना गरेका छन् । साथै उनले पिडितलाई उचित क्षतिपुर्तिको माग गर्दै ह त्यामा संलग्नहरुलाई हदैसम्मको कारवाही गर्न सरकारसंग जोडदार अपिल समेत गरेका छन् ।

यसका साथै अध्यक्ष रोकाले यस्तो अमानवीय जघन्य आपराधीक घटना दोहोरीन नदिन समाज र सरकारलाई बढी सचेत रहन आग्रह गरेका छन् । उनले सत्य तथ्य छानबिन गरी दोषीलाई कार्वाही गर्नकोलागी मानवअधिकाबादी संगठन, सामाजिक संगठन र राजनैतिक दलहरुलाई दबाब दिन पनि अनुरोध गरेका छन् । अध्यक्ष रोकाले जाजरकोटको यो घटना नेपाली समाज र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकालागी ठूलो चुनौती भएको पनि उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्