Friday, February 26

काठमाण्डौका यी ठाउँहरुमा कोरोना संक्रमित भेटीएपछि सिल !

May 26, 2020 2768

बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभयो । सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।

संक्रमितलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलशनमा राखिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार सङ्क्रमित युवकले बन्दाबन्दी समयमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर समस्यामा परेका व्यक्तिलाई अस्पतालसम्म पु¥याउने काम गर्दै आएका थिए । नगरपालिकामा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

टोखा क्षेत्र सिल

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो । टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

गोकर्णेश्वर शिवचोकका सात घर सिल

गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ ।ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले राससलाई जानकारी दिनुभयो । सङ्क्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका सदस्यको मात्र परीक्षण गर्न लागिएको हो । परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्र«ेसिङ गरी परीक्षण गरिने पनि उहाँले बताउनुभयो ।

नगरपालिकामा यो दोस्रो सङ्क्रमण भएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो । पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ क्षेत्रमा ट्र«ेसिङ गरिएका १९७ जनाको आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबैलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको उहाँले जानकारी दिनुभयो । नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पिसिआरको प्रतिवेदन भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै भक्तपुर अस्पतालमा किट सकिएपछि आजदेखि आरडिटी परीक्षण रोकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभएको छ । अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भने जारी राखेको छ । आज दुई पुरुष र तीन महिला सहित पाँच जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो । अस्पतालले अहिलेसम्म ७८६ जनाको आरडिटी र ६०५ जनाको पीसीआर गरी कूल एक हजार ३९२ को कोरोना परीक्षण गरेको छ ।

त्यसैगरी भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर नपाले शुरुमा गरेको आरडिटी परीक्षणमा एक वडा सचिव र अर्की सफाइ मजदूरको रिपोर्ट पोजिटिभ आएपछि गरिएको पीसीआर परीक्षणमा ६६ जनाको रिपोर्ट नेगेटिभ आएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिनुभयो । भक्तपुर नपाले गरेको पीसीआर परीक्षणमै उक्त नपाको वडा नं ९ की ४२ वर्षीया महिला वडा सदस्यमा कोरोना भाइरस पुष्टि भएको थियो । उनीसँगै पीसीआर गरिएकामध्ये ६६ जनाको नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । भक्तपुर नपाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सफाइ मजदुर गरी २०० को पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरेको जनाएको छ ।

त्यसैगरी भक्तपुर नगरपालिका भेलुखेलका एक पुरुषमा कोरोना सङ्क्रमण भएपछि यहाँका १६ जनाको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापन गर्नेे भक्तपुरका दुई युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुरका स्वयंसेवी अरुण सैंजू र राजेश गाइँजूले काभ्रेको धुलिखेल अस्पतालबाट ती महिलाको शव गाडीमा राखेर पशुपतिस्थित विद्युतीय शवदाह गृह पु¥याई व्यवस्थापन गर्नुभएको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दुबैजना आजै क्वारेन्टाइनबाट निस्किएर भक्तपुर अस्पतालमा विगतझै स्वयंसेवकको काममा फर्कनु भएको छ । युवा सैंजु र गाइँजूसहित चार जना युवाले सरकारले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन घोषणा गरेदेखि भक्तपुर अस्पतालमा बसेर स्वयंसेवी भएर काम गर्दै आउनुभएको छ । सैंजू र गाइँजूसँगै न्हुज किजू र पुनम कर्माचार्यले भक्तपुर अस्पतालमा क्याम्प नै खडा गरेर कोरोनाको परीक्षणमा आउने व्यक्ति तथा स्वाब सङ्कलन गरी पु¥याउने, आइसोलेसनमा रहेका बिरामीको रेखदेख गर्ने लगायतका काम गर्दै आएका थिए ।

शिक्षण अस्पतालमा पनि पिसिआर प्रयोगशाला

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर प्रविधिबाट कोभिड–१९ को परीक्षण आजदेखि शुरु गरिएको छ ।

त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पिसिआर प्रयोगशालाको उद्घाटन गर्दै सरकारसँग समन्वय गरेर कोभिड–१९ को परीक्षणको दायरा बढाउन प्रयोगशाला सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहाकार डा खेम कार्कीले कोभिड–१९ को परीक्षणको दायरा बढाउन लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको बताउनुभयो ।

योसँगै अहिलेसम्म कोभिड–१९ परीक्षण गर्नका लागि २० वटा पिसिआर प्रयोगशाला सञ्चालनमा रहेका छन् । काठमाडाँै उपत्यकामा भने पाँच वटा पिसिआर ल्याब सञ्चालन भएका छन् । त्रिविमा रहेको बाइयोटेक्नोलोजी विभाग रहेको उक्त प्रयोगशाला अस्पतालले सञ्चालन गरेको हो । मन्त्रालयका विज्ञ सल्लाहाकार डा कार्कीका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई, वीर अस्पतालमा एक, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा एक र शिक्षण अस्पतालमा एक जरी पाँच ठाउँमा पिसिआर सञ्चालन गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले एकपटकमा ९६ जनाको परीक्षण गर्न सकिने जानकारी दिनुभयो । परीक्षण गरिएको छदेखि आठ घण्टामा रिपोर्ट आउनेछ । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा रुना झाले परीक्षण गराउनेको सङ्ख्या बढिरहेकाले अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले सम्भावित सङ्क्रमितको परीक्षण गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले आफूले प्रयोगशाला सञ्चालनका लागि आवश्यक सहयोग गर्नेसमेत बताउनुभयो । अहिलेसम्म पिसिआरबाट ४८ हजार ८१५ र आरडिटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्