Sunday, January 24

अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

July 17, 2020 174

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताए पछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको हो ।

नगर प्रमुख ठाकुर ढकालले धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको बताउनुभयो । उनले भने “पुरातत्व विभागलाई अध्ययन गर्न आग्रह गरिएको छ ।” माडीका धार्मिक गुरुहरुको भेला गरी इतिहास र तथ्यका विषयमा छलफल गरेको उनले बताए ।

धार्मिक गुरुहरुलाई उद्धृत गर्दै ढकालले रामायणमा उल्लेखित अधिकांश तथ्य र प्रमाण यहाँ रहेका बताए । उनले भने “अयोध्यापुरी, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड, सीताराम कुण्ड, वाल्मीकि आश्रम माडीका प्रमुख धार्मिक स्थल हुन्, यी रामायणसँग जोडिएका छन् ।” यी धार्मिक स्थलमा पुराना भग्नावशेष रहेका उल्लेख गर्दै उनले यहाँ पुराना इँटाका टुक्रा, तामाका पैसा, माटाका भाडा बनाएका टुक्र, इनार रहेको बताएका छन् ।

यी सबै तथ्यका आधारमा अयोध्या माडीमा नै हो भन्ने विषयमा आफूहरु विश्वस्त रहेको प्रमुख ढकालले बताए । उनले भने “हामी विश्वस्त छौँ, तर प्रमाणहरु जुटाउनेतर्फ लागेका छौँ ।” आफूहरुले अयोध्या प्रमाणित हुने तथ्य खोजेरै छाड्ने उहाँले जिकिर गरे । उनले तीनै तहका राज्यको सहयोगमा पुरातात्विक वस्तुको उत्खनन् र प्रमाण जुटाउन लाग्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्