Thursday, January 21

‘कवाडीवाली’ आयुषी भन्छिन्- व्यवसाय सय मिटरको दौड होइन, म्याराथन हो

July 14, 2020 191

‘खालीसिसी डटकम’ सञ्चालक आयुषी केसीलाई कोरोना लकडाउनमा पनि ग्राहक पाउन गाह्रो छैन। मानिसहरू घरमै सीमित भए पनि फोहोर उत्सर्जन कम हुँदैन। सुरक्षाका कारण फोहोर संकलन र व्यवस्थापनमा बाधा भने भइरहेको छ।

‘मान्छे हुँदासम्म फोहोर उत्सर्जन भइरहन्छ। यो कुरा ट्राफिक व्यवस्थापकलाई बुझाउन गाह्रो भइरहेको छ,’ आयुषी भन्छिन्, ‘कवाड बोकेर गन्तव्य पुग्नुपर्ने सवारीहरू बारम्बार रोकिएका छन्। यसले एकातिर फोहोर व्यवस्थापनमा समस्या ल्याएको छ, अर्कोतिर कम्पनी सञ्चालनमा।’महामारीसँगै अधिकांश मजदुरी गर्नेहरू आ–आफ्ना घर फर्केका थिए। सडकमा पनि कवाडी संकलक विरलै भेटिन्छन्। खालिसिसीसँग आबद्ध संकलकलाई पनि कम्पनीले सुरक्षित आ-आफ्ना घर पुर्‍याउन पहल गरेको उनले बताइन्।

‘महामारीमा काम लगाउनुभन्दा सुरक्षित राख्न पहल गर्‍यौं। जिल्लाका सिडिओ, प्रहरीसँग कुराकानी गरेर सवारी व्यवस्था गरी जान चाहनेलाई घर पठायौं। कतिपय भारतीयलाई बोर्डर पास पनि गरायौं,’ उनले भनिन्, ‘तीन महिना बसेपछि जीवनयापनमा समस्या महशुस भएछ। फेरि काठमाडौं फर्किन थाल्नुभएको छ।’तराईका विभिन्न गाउँ कोरोनाको ‘इपिसेन्टर’ बनिरहँदा त्यसको प्रत्यक्ष असर कवाड संकलकलाई परिरहेको आयुषी बताउँछिन्। उनका अनुसार पहिल्यै हेयका पात्र बनिरहेका कवाडी संकलकलाई नयाँ चुनौती आइपरेको छ।

आयुषीलाई पनि उनीहरू फेरि कसरी पेसामा जुट्लान् भन्ने चिन्ता छ, ‘अधिकांश कवाडी संकलक तराई मूलका हुनुहुन्छ। उहाँहरू हामीसँग दुखेसो गर्नुहुन्छ- मान्छेहरू कालो छाला भएकाजति सबैलाई कोरोना लागेको छ भन्ने मानसिकता राख्न थालेका छन्।’महामारीबीच यस्ता भ्रमले काम गर्न झन् समस्या भएको उनले बताइन्।कवाड संकलनमा पुरानो लय समात्न समय लाग्ने बताउँदै उनी थप्छिन्, ‘संकलकले भोलिका दिनमा फर्केर यही काममा आउँदा अझै समस्या झेल्नुपर्ने प्रस्टै छ।’लकडाउनअघि खालिसिसी कम्पनीमा करिब तीन सय कवाड संकलक थिए, त्यति नै नियमित ग्राहक पनि।

कम्पनीले भैपरी आउने विपत्ति ध्यानमा राखेर सुरूदेखि नै डिजिटल माध्यममा जोड दिइरहेको छ। व्यस्त सहरी जीवन र सुविधाअनुसार आफूलाई पायक पर्ने समयमा कवाड संकलकलाई घरै बोलाएर सामान बेच्न सकिन्छ।’मान्छे भेट नहुने समस्या आउला भनेर हामीले डिजिटलाइजेसनमा जोड गरेका हौं,’ कम्पनी योजनाबारे प्रस्ट्याउँछिन्, ‘स्मार्टफोन वा एपबाट काम गर्ने वातावरण तयार पार्ने भनेको हो। भनेजस्तो भएको भए अहिले पनि फोहोर संकलनमा कुनै समस्या हुने थिएन।’यतिबेला घरैमा फोहोर वर्गीकरण गरेर राख्न आयुषी अनुरोध गर्छिन्। अवस्था सामान्य हुनासाथ खालीसिसी घरै आइपुग्ने उनले बताइन्।

‘तत्कालै फोहोर लिन आउने अवस्था छैन। जति छ, घरमै स्रोत छुट्याएर राख्नुस्, सकेसम्म डिजिटल माध्यमबाट खबर गर्नुस्,’ उनी अनुरोध गर्छिन्, ‘तपाईंसँग कवाडी सामान छ, तर घर बस्ने फुर्सद छैन वा संकलकको आवाज सुन्नुहुन्न या उठाउने मान्छे तपाईंसम्म पुग्न सक्दैन भने अनलाइनबाट जानकारी दिन सक्नुहुन्छ। आफूले भनेको समयमा सामान बेच्न पाउनुहुन्छ।’

आयुषीलाई अहिले फोहोर संकलनमा मात्र होइन, आफ्नो दसवर्षे योजनामा पनि बाधा पुगेको छ- सन् २०३० सम्म नेपाललाई कवाडी सामान पुनः प्रयोग गर्ने विश्वका टप-२० देशमा समावेश गर्ने। उनले खालीसिसी स्थापनादेखि नै यो सपना देखेकी हुन्।

आफ्नै व्यवसाय थाल्नुअघि आयुषी ‘युएसएआइडी’ मा जागिरे थिइन्। तलब धेरै भए पनि सन्तुष्ट थिइनन्। केही वर्ष जागिर खाने र आफ्नै व्यवसाय सुरू गर्ने सोच थियो।उनको अर्को चाहना थियो, आफूले गर्ने काम सामाजिक हितमा होस्। तर के गर्ने, प्रस्ट चित्र थिएन।कामको सिलसिलामा उनी अमेरिका पुगिन्। काठमाडौंमा पाइलैपिच्छे फोहोरको डंगुर देखेकी उनलाई सबभन्दा अचम्म त्यहाँको सरसफाइ लाग्यो, ‘यहाँ फोहोरमा खुट्टा नटेकी हिँड्न सम्भव थिएन, त्यहाँ त धुलो पनि थिएन।’

ठूलो देश, धेरै जनसंख्या, उद्योग, कलकारखानाका भीडमा पनि जताततै सफा देखेपछि व्यवस्थापनकी विद्यार्थी आयुषीको मनमा एउटै प्रश्न चलिरह्यो– यहाँ फोहोर कसरी व्यवस्थापन हुँदो रहेछ?भेटेकाहरूसँग सोधिन्, गुगलमा खोजिन्।’त्यहाँ फोहोरको प्रकृतिअनुसार पहिल्यै छुट्याएर राखिँदो रहेछ। जैविक फोहोरबाट मल तथा बिजुली उत्पादन हुने रहेछ र अजैविकलाई पुनः प्रयोग गर्ने प्रयास हुने रहेछ,’ उनले सुनाइन्।

काठमाडौं फर्किएपछि उनले यहाँको फोहोर व्यवस्थापनबारे बुझिन्। थाहा भयो, काठमाडौंमा महानगरपालिकामा मात्र दैनिक पाँच सय टनभन्दा बढी फोहोर उत्पादन हुने रहेछ। त्यसमध्ये ६५ प्रतिशत जैविक र ३५ प्रतिशत अजैविक।वर्गीकरण नहुँदा पुनः प्रयोगमा ल्याउन सकिने ७० प्रतिशत फोहोर खेर गइरहेको पनि थाहा पाइन्।

‘हामी आफू फोहोर उत्पादन गर्छौं, व्यवस्थापन भने महानगरपालिका वा अन्य निकायले गर्नुपर्छ भन्ने ठान्छौं। सबैखाले फोहोर एकै ठाउँ कोचेर गाडीमा हालिदिन्छौं र टन्टा सकिएको ठान्छौं,’ आयुषी समस्या सुनाउँछिन्, ‘दिनकै यतिका फोहोर सिसडोलमा फाल्दा डम्पिङ साइट भरिएपछि के गर्ने?’उनले आफैंसँग गरेको यही प्रश्नले फोहोरबाट मोहोर बनाउने निर्णयमा पुगिन्।

वातावरणविद्, इञ्जिनियर, कवाड संकलकहरूसँग लामो छलफलछि उनले दीर्घकालीन योजना बुनिन्- जैविक र अजैविक फोहोर पुनः प्रयोगमा ल्याउने उद्योग खोल्ने।उनी भन्छिन्, ‘मैले गर्न खोजेजस्तो काम यही रहेछ। आफ्नो व्यवसाय पनि हुने, समाजलाई योगदान पनि।’केही वर्षयता आयुषीको परिचयमा ‘कवाडीवाली’ थपिएको छ। उनी आफ्नो यही परिचयमा रमेकी छन्। तर कवाडी संकलकलाई अपमानजनक शब्दले बोलाउँदा उनलाई चित्त दुख्छ।

‘खालीसिसी, पुरानो कागज भन्दै आउने संकलकलाई हामी हेप्दै एक रूपैयाँका लागि मोलमोलाइ गर्छौं। उनीहरूलाई ठग भन्छौं,’ आयुषी भन्छिन्, ‘यस्तो सुन्दा साह्रै नराम्रो लाग्छ। खालीसिसीमा जोडिएकालाई भने केही सजिलो छ। महशुस हुने गरी व्यवहारमा परिवर्तन पाएका छौं।’व्यवसाय, समाजलाई योगदानका साथै आफ्नो र आफूसँग आबद्धहरूको पहिचान बनाउन लागिपरिरहेका बेला कोरोना महामारी फैलियो। लकडाउनपछि कति व्यवसाय विस्थापित होलान्। यो चुनौतीमाझ आयुषी भने ढुक्क सुनिन्छिन्।

‘पहिलेको योजनाले काम गर्दैन। व्यवसायमा तलमाथि भइहाल्छ। हरेस खान भएन। आज टिक्न सक्यौं भने एक कदम लक्ष्यनजिक पुग्छौं। व्यापार-व्यवसाय सय मिटरको दौड होइन, म्याराथन हो। अवस्थाअनुसार ढिलो-चाँडो दौडिनुपर्छ,’ उनले भनिन्।

प्रतिकृया दिनुहोस्