Sunday, January 17

देशैभरी बर्षाका कारण बाढी पहिरोको बितण्डा, बाढी,पहिरो र डुबानबाट कहाँ कति कति ज्यान गयो, कुन सडक खण्ड अबरोध सबै अपडेट सहित

July 10, 2020 238

काठमाण्डौं –  निरन्तरको वर्षाले राजधानी आवात जावत गर्ने प्रमुख तीनवटै राजमार्ग अवरुद्ध भए पछि मुलुकका अन्य जिल्लासंग काठमाडौंको सम्पर्क विच्छेद भएको छ । बागमती प्रदेशका प्रहरी प्रमुख डिआइजी वसन्त लामाका अनुसार पृथ्वी राजमार्ग, बिपी राजमार्ग र बल्खु–कुलेखानी–हेटौंडा सडक पहिरोका कारण अवरुद्ध भए पछि धेरै ठाउँवाट काठमाडौं भित्रन र बाहिरिने क्रम बन्द भएको छ ।

पृथ्वी राजमार्गको मुग्लीन–नारायणगढ सडक खण्डका ठाउँ ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध छ। ‘पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुलि नसकेको छैन,’ डिआइजी लामाले बताउनुभयो । यस्तै बीपी राजमार्ग पनि शुक्रबार बिहानैदेखि अवरुद्ध भएका कारण सवारी साधन चल्न सकेका छैनन् । सिन्धुलीको सुनकोसी गाउँपालिका २ कमेरेफाँटमा पहिरोजाँदा सडक अवरुद्ध भएको हो। पहिरो हटाउने काम जारी रहे पनि ठाउँठाउँमा पहिरो गएकाले सडक सञ्चालनमा आएको छैन ।

त्यसैगरी बल्खु–कुलेखानी–हेटौंडा सडकखण्डको सिस्नेरीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। बिहीबारदेखि नै अवरुद्ध यो सडकमा शुक्रबार थप पहिरो गएको हो। बुधबारदेखिको निरन्तरको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। विभिन्न ठाउँमा मानवीय क्षती समेत भएका छन्।

सराङकोट पहिरो ः मृतकको सङ्ख्या पाँच

पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा , १८ वर्षीया आशा थापा र पिङ्कीका छोरी पाँच वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी तनहुँ दमौलीका टङ्कबहादुर थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उहाँका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–१८, सराङकोटस्थित गोठादीमा गए रातिको पहिरोमा परी घाइते भएका छ जनाको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदै । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । तस्वीरः कृष्ण दवाडी

घाइतेको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोटपटक अस्पतालका चिकित्सक डा असिम सुवेदीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन्छ । गएराति घरमाथिबाट आएको पहिराले थापाको घर पुरेको थियो ।
पिङ्की थापाकोे जन्मदिन मनाउने कार्यक्रमसहित घरमा छिमेकी तथा आफन्त भेला भएका थिए । तनहुँका सरस्वती दुई छोरासहित दिदीको घरमा आउनुभएको थियो । पोखराका विभिन्न ठाउँमा गएरातिको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।यसअघि पोखरा–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरामा पुरिँदा उहाँका आमा ७० वर्षीया हिमकलीको घटनास्थलमै मृत्यु भएको थियो । वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।

घरभित्र पहिरो पस्दा तीनको मृत्यु, तीन घाइते

लमजुङ बेँसीशहर नगरपालिका–७ का एक स्थानीयको घरमाथिबाट खसेको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ । स्थानीय ३३ वर्षीय दीपक तामाङको घरभित्र गए राति पौने १२ बजेतिर अविरल वर्षासँगै पहिरो पस्दा ३३ वर्षीय दीपकसहित नौ वर्षीय छेवाङ तामाङ र २६ वर्षीया विमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तामाङको घरदेखि करिब २५/३० मिटर माथिबाट आएको पहिरो घरभित्र छिर्दा उहाँको परिवारका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकास पुनले बताउनुभयो । घरभित्र पुरिएको अवस्थामा शव सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर उद्धार गरेका थिए । २६ वर्षीया विमायाको राति १ बजे र दुई जनाको राति साढे २ बजे शव निकालिएको प्रहरीको भनाइ छ । उद्धारपश्चात् उनीहरुको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । त्यस्तै, मृतक ३३ वर्षीय तामाङको घरमा काम गर्न बसेका तीन जना घाइते भएका छन् ।

लमजुङको बेँसीशहर नगरपालिका–७ स्थित सातविसेमा घरमाथिबाट झरेको पहिरोमा परेकाको उद्दारमा खटिँदै सुरक्षाकर्मी । सो पहिरोमा परी ३३ वर्षीय दीपक तामाङसहित तीन जनाको मृत्यु भएको थियो भने तीन जान घाइते भएका छन् । तस्बिरः जनक श्रेष्ठ

घाइते हुनेमा सोही वडा सातविसे घर भएका २६ वर्षीय सन्तबहादुर गुरुङ, बेँसीशहर नगरपालिका १० घर भएका २० वर्षीय सुमन गुरुङ र २३ वर्षीय अनिल गुरुङ रहेको प्रहरीको भनाइ छ । घाइते तीन जनालाई नै जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक पुनले बताउनुभयो ।

मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता

म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना पहिरोमा परी बेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सविन पुन बेपत्ता भएका हुन् । परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले पुरिँदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन् । वडाध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा बेपत्ता भएकी छिन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ । बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । भारवाङस्थित शिवरात्रि खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताउनुभयो । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढालगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको बाढीले क्षति पु¥याएको पुल । तस्बिर: सन्तोष गौतम

धवलागिरि गाउँपालिका–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले जानकारी दिनुभयो । ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्किएको छ । पाखोको भल पसेर किमचौर फाँटमा भर्खरै रोपिएको धान नष्ट भएको छ । हिलापोखरीमा रेशम फगामीको घर भत्किएको छ । मानवीय क्षति भने भएको छैन । ताकमकै देउबुजामा छ घर पहिराको जोखिममा परेका स्थानीय गोपाल आचार्यले जानकारी दिनुभयो ।

यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हँुदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जीप भत्काएर बगाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।

रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन् । सो बस्ती कटानको उच्च जोखिममा परेको छ । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको उहाँले जानकारी दिनुभयो ।

गलेश्वरका स्थानीय दीपक कार्कीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताउनुभयो । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणका क्रममा छ । पहिरो प्रभावित ठाउँमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।

वर्षा भइरहेको र बादल लागेको तथा ठाउँठाउँमा पहिराले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक किरनजंग कुँवरले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उहाँले बताउनुभयो ।

बिहीबार रातिदेखिको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगङ्गा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी नगरपालिका–४ सिञ्गा तातोपानीका दुई जनालाई उद्धार गरिएको छ । मङ्गला–३ का २४ वर्षीय दलबहादुर घर्ती (मिलन) र ४८ वर्षीय सूर्य थापा दाउरा छोप्ने क्रममा खोलामा एक्कासी बाढी आएपछि पसेका थिए । प्रहरी र नेपाली सेनाको टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो । भू–तथा जलाधार संरक्षण कार्यालय सम्पर्क इकाइ म्याग्दीका प्रमुख शम्भुकुमार मिश्रले सीमित ठाउँमा भएको अत्यधिक वर्षा, कमजोर भूगोल र अव्यवस्थित विकास गतिविधिले पहिरोको जोखिम बढेको बताउनुभयो ।

भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा

पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन् । बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताउनुभयो । उहाँका अनुसार भोंजेगाउँका गमबहादुर कामीको घरको पिंँढी र आँगन भत्किएको छ । सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उहाँको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडा सचिव विकको भनाइ छ ।

यसै गरी कालो सार्कीको घरको पिंँढी नै भासिएको छ । उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ । गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन् । विसं २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको छ । उहाँका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ ।

पहिरोले घर पुर्दा आमा छोरीको निधन

रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । पहिराले घर पुरिँदा आठ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।

जाजरकोट सदरमुकामका विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध भएपछि अस्पतालबाट स्ट्रेचरमा बिरामीलाई घर ल्याइँदै । तस्वीरः हेमन्त केसी

तुलबहादुर भने कामको सिलसिलामा नगरपालिकामै पर्ने गोतामकोट गएको प्रहरीको भनाइ छ । स्थानीयले घर पहिरोले पुरेको जानकारी दिएपछि अस्थायी प्रहरी पोष्ट स्यालाखदीबाट प्रहरी सहायक निरीक्षक जयराम रावलको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयसमेतको सहयोगमा एक जनालाई जीवितै उद्धार गरेको र अन्य दुई जनाको शव निकालेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो।

यो पनि पढ्नुहोस

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ –बुर्तिवाङ खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । बागलुङक जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट–११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिनुभयो । पहिरोले करिब २५ मिटर सडक पुरेको छ ।

सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका छन् । निरन्तरको वर्षात्का कारण लोकमार्ग खुलाउन समस्या भएको सो नगरपालिकाले जनाएको छ । यस्तै अविरल वर्षसँगै आएको पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् ।

वर्षात्का कारण डोटीका ग्रामीण सडक अवरुद्ध

दुई दिनदेखि जारी भारी वर्षात्का कारण जिल्लाका अधिकांश ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ । वर्षात्ले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो गएपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन । वर्षात्का कारण जिल्लाको मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, गड्सेरा, मुभारा धुर्कोट, चवराचौतारालगायत क्षेत्रका ग्रामीण सडक अवरुद्ध भएका छन् ।

जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका ग्रामीण सडकमा दुई दिनदेखि परेको वर्षासँगै सवारीसाधन गुड्न सकेका छैनन् । वर्षा शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् । गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत मनपरि सडक खनिएका कारण माथिबाट पहिरो खस्ने र अवरुद्ध हुने गरेको कपल्लेकी स्थानीयवासी रतन ऐरले बताउनुभयो ।

यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउनै नमिल्ने गरी बिग्रिएको सायल गाउँपालिका डौड–१ का स्थानीय डिलबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ता समितिको मनपरि ढङ्गले काटिएका सडक बेकामै भएका छन्, सवारीसाधन त के मान्छे हिँड्नसमेत मुस्किल पर्न थालेको छ ।” यहाँका अधिकांश ग्रामीण कच्ची सडकमा हिउँदको छ महिनामात्र सवारीसाधन सञ्चालन गर्न मिल्ने तथा हल्का वर्षा शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेस्वरी यातायात व्यवसायी समितिका दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “बाटो लैजाने नाममा जथाभावी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन्, गाडी हाल्ने बित्तिकै दुर्घटना भैहाल्छ ।” यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउन अति जोखिममा रहेका छन् । बिना मापदण्डका यी ग्रामीण सडकमा ठूलाठूला दुर्घटना हँुदासमेत सडकको स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयको आरोप छ ।

डोटीको केआइसिंह गाउँपालिका–५ बुहारमा गए राति आएको पहिरोले पुरिएपछि क्षतिग्रस्त भएको से १ च २१२५ नम्बरको महेन्द्र जीप । जीपका चालक भने ज्यान बचाउन सफल भएका छन् । तस्वीर ः विमलबहादुर विष्ट

बजेट विनियोजन भएका ग्रामीण सडकमा समेत सरकारले रकम निकासा नदिँदा यहाँका ग्रामीण सडकको अवस्थाजस्ताको तस्तै रहेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय तथा काँग्रेस नेता खडकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारीस्तरबाट विनियोजन भएको रकम निकासा नदिँदा सडकको दूरावस्ता भएको छ, ग्रामीण सडकको स्तरोन्नति गर्ने हो भने पर्याप्त बजेट आउनु पर्छ ।” ग्रामीण क्षेत्रका सडक ज्यानमारा सडकका रुपमा परिच हुन थालेका छन् । जिल्ला समन्वय समिति, वडा, निर्वाचन क्षेत्र विकासको वर्षेनी त्यस्ता सडकमा रु.१० करोडभन्दा बढी खर्च हुने गरेको छ । ती सडक प्राविधिकको वर्गीकरणमा ‘घ’ वर्गमा र अति जोखिममा परेका छन् ।

वर्षात्ले ग्रामीण सडक बन्द हुँदा उपचारका लागि आउने बिरामीका साथै सुत्केरी महिलाले दुःख पाउनुपरेको बडिकेदार गाउँपालिका–१ विपिनगरका स्थानीयवासी रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडीमा चढ्ने बानी परेकाले हिँड्न गाह्रो हुन्छ, गाउँघरमा कोही बिरामी प¥यो की बोक्नको समस्या हुन्छ ।” डोटीका गाउँगाउँमा पछिल्लो केही समययता सडक पु¥याउने होडबाजी नै चलेको छ । विगतमा नेताले जनतासँग सडक पु¥याउने वाचा गरेअनुसार यहाँका गाउँमा सडक पु¥याउने होडबाजी चलेको स्थानीयवासी बताउँछन् ।

ग्रामीण सडकमा यातायात ठप्प

जिल्लाका ग्रामीण सडकमा यातायात ठप्प भएका छन् । अविरल वर्षाका कारण विभिन्न स्थानीय तहमा पुग्ने सडकका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसंँगै यातायातका साधन बन्द भएका हुन् ।पुर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक, मार्तडी देखि गौमूल गाउँपालिका घटमुना, मार्तडीदेखि छेडेदह गाउँपालिका डोगडी, बाम्काबजारदेखि त्रिवेणी नगरपालिका तोली, बाम्का बजारबाट डोगडीलगायत क्षेत्रका जाने ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै अन्य ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् ।

सदरमुकाम मार्तडीबाट गौमूल गाउँपालिकाको केन्द्र घट्मुना जाने बाटोसमेत अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो । “सबै बाटाहरु अवरुद्ध भईसके, गाडी चल्ने अवस्था नै छैन्, अब जिल्ला सदरमुकाम आउन एक दिनको पैदल यात्रामा हिँड्नुपर्छ । बाटो बनाउन गाउँपालिकाले प्रयास गरे पनि वर्षा नियमित भएका कारण सकिएको छैन”, उपाध्यक्ष थापाको भनाइ छ ।

पोखरा, २६ असार ः पोखराको फेवातालमा शुक्रबार बिहान पानी परेका बेला देखिएको दृश्य । अविरल वर्षाले तालमा पानीको सतह बढेकाले बाँधेर राखिएका डुङ्गा डुबेको छ । तस्वीर ः राधिका कँडेल

मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा पूर्वी उत्तरी क्षेत्रका स्थानीयवासीलाई बढी समस्या भएको छ । सडक विभिन्न ठाउँमा भत्किएपछि अप्ठ्यारो बाटामा पैदल यात्रा गर्नसमेत निकै कठिन हुने गरेकोे स्थानीय तहले जनाएका छन् ।मार्तडीबाट पाण्डुसैनसम्मको सडक पूर्ण रुपमा अवरुद्ध भएको तथा पाण्डुसैनबाट दानसागुसम्म फाटफुट रुपमा साना जीप सञ्चाल भइरहेको स्थानीय व्यापारी वीरेन्द्र कार्कीले जानकारी दिनुभयो । जथाभावी रुपमा खनिएका सडकबाट जिल्लामा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा साधारण मार्ग मात्र खोलिएको र वर्षायाम शुरु हुनेबित्तिकै पूर्ण बन्द हुने गरेका छन् । ग्रामीण सडकको अवस्था दयनीय हुँदा जिल्लाका नौ वटै स्थानीय तहमा स्थानीयवासी जोखिपूर्ण यात्रा गर्न बाध्य छन् । प्राविधिक रुपमा जाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सडक बन्द भएपछि लामो तथा छोटो दूरीका सवारी साधन बन्द भएका छन् ।

साँफे –मार्तडी सडक बन्द

लगातार परेका वर्षाका कारण साँफे–मार्तडी सडक एक हप्तादेखि अवरुद्ध भएको छ । बूढीगङ्गा नगरपालिका १ मा पर्ने द्वारी क्षेत्रको सडकमा तल र माथिबाट पहिरो बग्न थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
पहिरोसँगै बूढीगङ्गा नदीको तीव्र कटानका कारण सडक चार मिटर तल भासिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो । तत्काल हटाउन सकिने अवस्था नरेहेको उहाँको भनाइ छ । लगातार वर्षाका कारण नदीको कटान र माथिबाट पहिरो आउने क्रम नरोकिएकाले सडक तत्काल बनाउने अवस्थासमेत छैन । मौसम सफा हुनेबित्तिकै सडक मर्मत गरिने प्रजिअ गैरेले बताउनुभयो ।

प्रदेश प्रमुख प्रसाईँद्वारा खोजी र उद्धार द्रुत बनाउन आग्रह

वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले सिन्धुपाल्चोकमा भएको बाढीपहिराको घटनाका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ । यहाँ आज वक्तव्य जारी गर्दै प्रदेश प्रमुख प्रसाईँले प्रदेश सरकारलाई खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन आग्रहसमेत गर्नुभएको छ ।प्रदेश प्रमुख प्रसाईँले जोखिम कायम नै रहिरहेका अवस्थामा नागरिकलाई सावधान रहन तथा सरकारलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ ।

यसैबीच वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक घटनामा ज्यान गुमाउनेहरुको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकमार्फत राहत घोषणा गरिने जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल तथा सामाजिक विकासमन्त्री युवराज दुलाल हेलिकप्टर लिएर सिन्धुपाल्चोक पुग्नुभएको थियो ।

अविरल वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।

कार्यालयले सार्वजनिक सूचनामार्फत अपिल गर्दै जिल्लाका स्थानीय तथा सरोकारवाला निकायलाई बिहीबारदेखि मनसुन सक्रिय रहेकाले यसबाट भू–क्षय हुने, बाढी–पहिरो जाने, सडक यातायात अवरुद्ध हुनेसक्ने तथा ढल निकास व्यवस्थित नभएको स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०७७ अनुरुप सबै सरोकारवाला निकायमा आवश्यक समन्वय गरी विपद् जोखिम न्यूनीकरण कार्यमा उच्च सतर्कता अपनाउन स्थानीय तहलगायत सरोकारवाला निकायलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो ।

बिहीबार रातिदेखि लगातार परेको पानीका कारण जलाम्य पोखरा महानगरपालिका– ३३ स्थित चैनपुर पानीट्याङ्की सडक । तस्वीर ः वासुदेव पौडेल

स्थानीय तह एवं सरोकारवाला निकायले पूर्वतयारीस्वरुप गरिएको कार्यको जानकारीसमेत मागिएको तिमल्सिनाले बताउनुभयो । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् । काभ्रेपलाञ्चोक भएर चार ठूला नदी सुनकोशी, इन्द्रावती, रोशी र वाग्मती बगेका छन् । देशका विभिन्न स्थानमा वर्षाका कारण घटना भइरहेकाले पनि जिल्लाका बासिन्दामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

जिल्ला हुँदै बग्ने ठूला नदीमा बिहीबरदेखि बहाव बढिरहेकाले नदी किनार क्षेत्रका बस्ती उच्च जोखिममा पर्ने हुँदा विशेष सतर्क रहन स्थानीय प्रशासनल आग्रह गरेको हो । “विशेष गरी ठूला नदी छेउछाउका बस्तीलाई विशेष निगरानी गर्नुपर्ने देखिएको छ, उच्च सतर्क रहन पनि आग्रहगरेका छौँ”, तिमल्सिनाले भन्नुभयो । जिल्लाका स–साना खोला, खहरेखोला तथा खोल्सीमासमेत बाढी आइरहेका छन् ।

छिमेकी जिल्ला सिन्धुपाल्चोकमा बुधबार रातिको अविरल वर्षाका कारण बाढी–पहिरोले बाह्रबिसे नगरपालिका–५ गातीस्थित जम्बू बजार र खागदल बस्ती तथा भोटकोशी गाउँपालिका–५ को बुल्कोटीका ३६ घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो । २० अझै वेपत्ता रहेका छन् भने सात घाइते भएका थिए । गम्भीर घाइते पाँचलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको छ । बेपत्ताको बिहीबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयको सहयोगमा खोजीकार्य भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताउनुभयो । “आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार दिन सतर्क रहनु पर्छ”, मौसमविद् पोखरेले भन्नुभयो ।

मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ । विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ९.८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै वीरेन्द्रनगरमा २३.५, सिमरामा ११.२, नेपालगञ्जमा १०.७ र सबैभन्दा धेरै पोखरामा १३६ .७ मिलिमिटर वर्षा भएको छ ।

ताजाखबर बाट

प्रतिकृया दिनुहोस्