काठमाडौँ । मानिसको शरीरमा तीन प्रकारको जुम्रा पर्ने गर्छ। कपाल, जिउ तथा गुप्तांगमा फरक फरक प्रकारका जुम्रा पर्छ।मानिसले जुम्रा परेपछि जिउ तथा टाउको चिलाएर अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। विशेषगरी, महिलाको कपाल लामो र बाक्लो हुने कारण जुम्राको समस्या धेरै हुन सक्छ।
जुम्रा पर्ने समस्या र त्यसबाट बच्ने उपायबारे छालारोग विशेषज्ञको सुझाब यस्ता छन्ः
बाक्लो कपालमा बस्न मन पराउने जुम्राले विशेष कन्पारा, गर्दनको साइडमा असर पुर्याउन सक्छ। जुम्राले टोकेर धेरै चिलाएमा या कन्याउँदा छालामा संक्रमण हुन सक्छ।
जसले गर्दा कपाल गाँठो पर्ने, घाउ हुने तथा गनाउने समस्या हुन सक्छ। लिखा कपालको जरामा टाँसिएको छ भने संक्रमण भएको मान्नुपर्छ। कपालको तल–तल आएको लिखा पुरानो संक्रमण हो। यसले छालालाई बढी असर पुर्याउन सक्छ।
मानिसको कपालमा परेको जुम्राबाट छुटकारा पाउने औषधि बजारमा पाइन्छ। सो औषधिलाई साप्ताहिक रूपमा कपालमा लगाउँदा धेरै फाइदा गर्छ।
कपालमा जुम्राको औषधि सुक्खा भएको वेला लगाउनुपर्छ। कपालमा औषधि लगाएपछि आधा घन्टा सुकाएर नुहाएको खण्डमा जुम्रा नष्ट हुन्छ।
सामान्यतया केटीहरूको कपाल लामो र केटाहरूको छोटो हुन्छ। त्यसैले केटीहरूलाई जुम्राले बढी सताउने गरेको पाइन्छ।
जुम्रा एक प्रकारको परजीवी हो, जो सजिलै एकबाट अरूमा सर्छ । परिवारमा कसैलाई जुम्रा परेको छ भने अन्यलाई पनि सर्न सक्छ । त्यसैले एकै दिन सम्पूर्ण परिवारले उपचार गर्नु राम्रो हुन्छ।
औषधिको प्रयोगले जुम्रा नष्ट भए पनि लिखा नुहाएर जाँदैन। त्यसैले बाँसको काँइयो या हातकै माध्यमले फाल्नुपर्ने हुन्छ।
मानिसको शरीरमा भने नियमित रूपमा लामो समय एउटै कपडा प्रयोग गर्दा जुम्रा पर्न सक्छ।
लुगाभन्दा बाहिर जुम्रा नबस्ने भएका कारण संक्रमितले आफूले लगाएको लुगा नै फाल्नु उपयुक्त मानिन्छ।
प्रतिकृया दिनुहोस्