Friday, February 26

‘बुवाको आ,त्माले भन्ला-तिम्रो जातको कथाले मलाई सालिक बनायो’

July 7, 2020 192

२०६८ साउन २८ गते दैलेखको तोली गाउँका सेते दमाईका छोराले प्रेम विवाह गरे। छोराको विवाहपछि खुसीयाली छाउनु पर्ने हो। तर सेतेको मनमा कताकता डर पलायो। किनकी उनका छोराले कथित उपल्लो जातकी युवतीसँग विवाह गरेका थिए। जातीय भेदभावले जरा गाडेको पश्चिम पहाडी गाउँमा दलित र कथित उपल्ला जातिका केटाकेटीबीच हुने विवाहलाई उपल्लो जातकाले स्वीकार्न सक्दैनन्।सेतेकी बुहारीका माइतीले पनि आफ्नी छोरीले रोजेको जीवनसाथी मन पराएनन्। उनीहरू हुल बाँधेर दुलहाका घरमा आक्रमण गर्न आए।

२०६८ भदौ १३ गते बुहारीका माइतीको आक्रमणमा परी सेतेले ज्यान गुमाए। उनको हत्याले हाम्रो समाजको जडताको चित्र त देखायो तर केही समयपछि यो विषय सेलाएर गयो।९ वर्षपछि अहिले फेरि सेते दमाईको प्रसंग ब्युँतिएको छ। दैलेख बजारमा उनको सालिक बन्ने भएको छ।संघीय सरकारले त्यसका लागि १० लाख बजेट छुट्याएको छ।सेते दमाईको सालिक बनाउन पहल भने संसदमा प्रतिनिधित्व गर्ने जिल्लाका दलित सांसद तथा दलित अधिकारकर्मीहरूले गरेका हुन्।

सालिक कुन ठाउँ राख्ने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन। प्रशासन र जनप्रतिनिधिसँग समन्वय गरी जिल्ला सदरमुकाम वा सदरमुकाम भएको नगरपालिका र नौमुले गाउँपालिकाको सिमानामा राख्ने भन्ने विषयमा टुंगो लगाउने परिवारले बताएको छ।सरकारले नै सालिक बनाउने भएपछि परिवारलाई थोरै भए पनि सान्त्वना मिलेको छ।आफूले गैरदलितकी छोरी विवाह गरेका कारण ज्यान गुमाएका बुवाको ९ वर्षपछि सालिक बन्न लागेकोमा सन्तबहादुर खुसी छन्।’राज्यले बुवालाई दिएको सम्मानको रूपमा लिएको छु। मलाई पनि सान्त्वना मिलेको छ,’ उनले भने।

सेते दमाईको स्केच।  स्केच: विशाल सुनार

उनलाई लाग्छ, ‘कुनै चौबाटोमा सालिक उभिँदा बुवाको आत्माले समाजलाई भनिरहला- हेर, तिम्रो जातको कथाले मलाई सालिक बनायो।’उनी चाहन्छन् राज्य र सरकारले समुदायलाई न्याय दिन अझ धेरै काम गरोस्।’त्यो घटनाले हाम्रो परिवारलाई त छँदैछ, यो समुदायलाई समेत अन्याय भएको छ  हामीलाई न्याय दिलाउन राज्यले अझ धेरै काम गर्नुपर्छ,’ उनले भने।२०६८ साउन २८ गते सन्त बहादुरले आफ्नै गाउँकी राजकुमारी शाहीसँग प्रेम विवाह गरेका हुन्।

राजकुमारीलाई विहे गरेर उनले आफ्नो घर लगेनन्। किनभने राजकुमारीको माइती नजिकै थियो। उनीहरू दुबै डराएका थिए। सन्तले अलि टाढा रहेको मामाघर सुरक्षित देखे। उनीहरू विहे गरेर मामा घर गए।केही समयमा तीज आयो। समान्य विहे भएको भए उनकी श्रीमती तीजमा माइत जाँदी हुन्। उनलाई लिन उनका बुवा वा दाजुभाइ आउँदा हुन्। तर उनका बुवाआमा त रिसाएर बसेका थिए।

बरू सन्तका आमाबाले नै घर बोलाए।’लुकेर बस्नुभन्दा अब घर आऊ,’ भनेपछि उनीहरू मावलीबाट निस्के। त्यो भदौ  १३ गतेको दिन थियो।उनीहरू घर आएको हल्ला गाउँ पुगिसकेछ। राजकुमारीका माइती पनि पुगे।

यता सन्तको परिवारले खुसी-खुसी बुहारी भित्र्याए। मीठो मसिनो पकाएका थिए। परिवार मिलेर खाए। अनि सुते। उनीहरू भित्र कोठामा सुतेका थिए, बुवा बाहिर पिंढीमा।एक्कासि होहल्ला गर्दै मानिसहरू आए।ती मानिसले बाहिरै सुतेका सन्तका बुवा सेते दमाईमाथि खुकुरी प्रहार गरे। हल्ला सुनेर बाहिर निस्केका सन्तका जेठा दाइ नरबहादुरमाथि पनि आक्रमण भयो।ती मानिस त राजकुमारीका माइती रहेछन्। काटमारै गरेर देखाइदिने सुर कसेर आएका।

‘खुकुरी मलाई हान्न ल्याइएको हुनुपर्छ, म कोठामा सुतिसकेको थिएँ,’ सन्तबहादुरले सेतोपाटीसँग फोनमा भने, ‘बुवा बाहिरै भएकाले बुवामाथि आक्रमण भयो।’बाहिर हल्ला सुनेर अकस्मात ब्युँझिएकी राजकुमारीले सन्तको हात च्याप्प समातिन्। उनीहरू चुपचापभित्रै बसे।खुकुरीले रगतपच्छे बनाएपछि आक्रमणकारीहरू भागे। सन्तका बुवाको छातीमा गम्भीर चोट लागेको थियो। भोलिपल्ट बिहान उपचारका लागि सुर्खेत लैजाँदा-लैजाँदै उनको मृत्यु भयो। उनीसँगै घाइते भएका नरबहादुर दमाई भने बाँचे।

पछि थाहा भयो घटनाको मुख्य योजनाकार राजकुमारीकी कान्छी फुपू विन्दकला शाही रहिछन्। अदालतले उनीसहित खुकुरी प्रहार गर्ने जीवन शाही र कृष्ण खत्रीलाई जन्म कैदको फैसला गरेको छ। उनीहरू तीनैजना अहिले जेलमा छन्।९ वर्ष पहिलाको यो घटनाले अहिले पनि सन्त र राजकुमारीलाई झस्काइरहन्छ।’यो जातको कुरा हुँदैनथ्यो भने न मेरो बुवाको हत्या हुन्थ्यो, न त उनीहरूले सजाय नै भोग्नुपर्थ्यो,’ उनले भने।

बुवाका हत्यारालाई कारबाही भयो, राज्यले उनको सालिक बनाउने भयो। सन्तलाई त ढिलै र केही भए पनि न्याय मिल्दै छ।तर राजकुमारीलाई!समय बितेर गयो। राजकुमारी र सन्तका दुई छोरा जन्मिए। यी नौ वर्षमा आफू जन्मे हुर्केको आँगन टेक्न राजकुमारीले पाएकी छैनन्। किनभने छोरीज्वाइँलाई माइतीले बोलाएका छैनन्।

३/४ महिनाको मायापिरतीकै भरमा उनी सन्तसँग भागेकी थिइन्। तर उनलाई बाबुआमाले छुटाएर लगे। छुटेर बस्न उनीहरूलाई निकै गाह्रो भएको थियो। त्यसैले २ महिनापछि फेरि भागे।’यसपालि भाग्दा नतिजा नराम्रो निस्कियो, जिन्दगीभरि बिर्सिन नसकिने गरी,’ उनले भनिन्।त्यो घटना तीजको दिन भएको थियो। हरेक तीजमा अहिले पनि एकपटक त त्यो रात उनले सम्झिन्छिन् र झस्किन्छिन्।

‘सुरूसुरूमा त तीज आउनेबित्तिकै मन साँघुरो हुन्थ्यो, अब त अलि बानी परिसकेँ,’ उनले भनिन्, ‘अर्काको खुसी हेरेर नहुने।’जस्तो पर्‍यो त्यस्तैमा चित्त बुझाउनुपर्ने रहेछ भन्ने उनलाई लाग्छ। उनले अचेल तीजको बेला आमालाई फोन गर्छिन्। त्यही फोनको साहरामा उनले घर गएको महसुस गर्छिन्।’उतै गएर दर खान नपाए पनि दर तीजको दिन खाना खानुअघि आमालाई फोन गरिहाल्छु,’ उनले भनिन्।

उनले त जसोतसो चित्त बुझाएकी छन्, अचेल छोराहरूले उनीहरूलाई बेला बेला सोध्ने गर्छन्- आमा, मामाले किन फोन गर्नुहुन्न?आमा र आफ्ना छोरालाई त फोनबाटै चिनजान गराएकी छन्। तर मामाबारे सोध्ने छोराहरूलाई उनले झुट बोल्नु परिरहन्छ।उनले भन्छिन्- मामा इन्डिया जानुभएको छ, त्यहाँबाट यहाँ फोन लाग्दैन।आमाबुवासँग बल्ल-बल्ल फोनमा बोलचाल हुन थालेको पनि उनका फुपूहरूलाई चित्त बुझ्दैन।ठूली फुपू र कान्छी फुपू उनीहरूसँगै बस्थे। कान्छी फुपू राजकुमारीका ससुरालाई मारेको अभियोगमा जेलमा छन्।

‘ठूली फुपूले त मसँग फोन गरेको भनेर बुवालाई पिट्नुहुन्छ। तीन पटक त फुपूले नै पिटेर बुवालाई अस्पताल लगेका हुन्,’ उनले भनिन् ‘अर्की फुपूले आमाबुवा र हामीलाई मार्दिने धम्की जेलबाटै दिइरहन्छिन्। मलाई डर लागिरहन्छ।’बिहे गरेको ६/७ वर्ष उनी सन्तकै घरमा बसिन्। २ वर्षयता सुर्खेत आएर भाडामा बस्न थालेका छन्।एउटै गाउँमा आक्कलझुक्कल भेट हुँदा जेठी फुपूले उनलाई थुकिदिन्थिन्।

उनलाई घरमा पनि गाह्रो लाग्छ। ‘मेरै कारणले ससुराको मृत्यु भयो भन्ने ठानेर हो कि सन्तका दाजुहरूले राम्रो मान्नु हुन्न,’ उनले भनिन् ‘छोराहरू हुर्किँदै गए त्यही कुराले घरमा बस्न मुश्किल हुँदै गयो। अहिले पनि माइती त परै जावोस् घर जानेसमेत वातावरणसमेत छैन।’घर माइती सबै छोड्नुको पीर एकातिर छ। छोरा हुर्काउने, पढाउने, लेखाउने पीरले पनि थिचिरहन्छ।

‘सुर्खेतमा भाडामा बसेर कसरी पढाउने होला, कसरी खुवाउने होला भन्ने पिरलो सँधै भइरहन्छ,’ उनले भनिन्।’जातको कुरा नभएको भए हामीले विवाह गरिसकेका थियौं। सामान्य रूपमा पारिवारिक सहमति हुन्थ्यो। जता बसे पनि अहिलेको भन्दा त सामान्य अवस्थामा बस्थ्यौं होला नि,’ उनले भनिन्।सेते दमाईको हत्या भएपछि ९ जनाविरुद्ध कर्तव्य ज्यान र जातीय विभेदसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। अदालतले घटनाका मुख्य योजनाकार बिन्दकला शाहीसहित संलग्न जीवन शाही र कृष्ण खत्रीलाई २० वर्ष जेल सजाय सुनायो।

सोही घटनामा संलग्न भएका दुई जना बालकलाई भने १० वर्ष बाल सुधार गृहमा पठाउने फैसला अदालतले गर्‍यो। उनीहरू ५० प्रतिशत कैद मिनाहा गरी घर फर्किएका छन्।यस्तै घटना हुनुअघि सूचना प्रवाहको काम गरेको ठहर भएका ४ जना बालकलाई पनि जातीय विभेदसम्बन्धी कसुरमा १ वर्ष कैद गर्ने फैसला पुनरावेदन अदालतले गरेको थियो। ती ४ जनाले २०७५ मा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।घटनामा ज्यान गुमाएका सेते दमाईको परिवारले भने २०६९ मा मन्त्रिपरिषदको निर्णय अनुसार १० लाख रूपैयाँ राज्यका तर्फबाट राहतस्वरूप पाएका थिए।

प्रतिकृया दिनुहोस्