Sunday, March 7

६९ तोला सुन, एक केजी चाँदी र सात लाख चोरी गर्ने तीन पक्राउ

July 3, 2020 212

काठमाडौं : नवलपुरमा सुनचाँदी चोरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गैंडाकोट नगरपालिका-५ काङ्ग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदी गरगहना र नगद चोरी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।

पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली राधा कृष्ण चोक बस्ने २४ वर्षीय अनुज लामा, भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय तिर्थबहादुर रुम्बा र भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ४० वर्षीय जीतबहादुर तामाङ छन्।

फागुन १८ गते बिहान उक्त पसलबाट तयारी सुनका गरगहना ६९ तोला ५ लाल, चाँदीका गरगहना १ किलो तथा नगद ७ लाख रुपैयाँ नगद रहेकाे ‘सेफ लकर’सहित चोरी भएको थियो।

सो घटनाको अनुसन्धान गर्न गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, महानगरीय अपराध महाशाखा काठमाडौं, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय गैडाकोटबाट संयुक्त रुपमा टाेली खटिएको थियो।

साथै उनीहरुको साथबाट विभिन्न गरगहना १२ तोला ५ प्वाइन्ट, ६ थान मोबाइल, एक थान फोडिएको सेफ लकर बरामद गरेको छ। प्रहरीले उनीहरूबाट प्रदेश ३-०२-०१४ प ७७७५ नम्बरको स्कुटर तथा सेफ फोड्नका लागि प्रयोग भएका विभिन्न औजारहरु समेत बरामद गरेको छ।

उनीहरुमाथि डाँका चोरी मुद्दामा जिल्ला अदालत नवलपुरबाट म्याद थपगरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्